धनगढीमै भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक सोरुम सञ्चालनमा

भर्खरै

धनगढी/इटालियन ब्रान्ड भेस्पा र अप्रिलिया का स्कुटर अब सुदूरपश्चिमका ग्राहकले धनगढीमै आधिकारिक रूपमा खरिद गर्न पाउने भएका छन्। धनगढी उपमहानगरपालिका–४, चटकपुरमा स्थापना गरिएको भेस्पा लेजेन्ड्सको आधिकारिक सोरुम शुक्रबारदेखि सञ्चालनमा आएको हो।
नयाँ सोरुमको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले गरेका हुन्। सोरुम उद्घाटन कार्यक्रममा व्यवसायी, उद्योगी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले धनगढीमा अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक सवारीसाधनको आधिकारिक बिक्री तथा सेवा केन्द्र विस्तार हुनु स्थानीय बजारका लागि महत्वपूर्ण भएको बताए। उनले नयाँ ब्रान्ड तथा व्यवसायको प्रवेशसँगै बजारमा प्रतिस्पर्धा बढ्ने र त्यसले ग्राहकलाई थप विकल्प उपलब्ध गराउने धारणा राखे।
उनले निजी क्षेत्रबाट हुने नयाँ लगानी तथा व्यवसाय विस्तारले स्थानीय बजारलाई चलायमान बनाउनसँगै रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्‍याउने बताए।

८० वर्ष पूरा गरेको भेस्पाको दाबी
कार्यक्रममा भेस्पाका प्रमुख कार्यकारी अधिकृत विजय मेहताले कम्पनीले आफ्नो ८०औँ वर्ष सफलतापूर्वक पूरा गरेको जानकारी दिए।
उनका अनुसार भेस्पा आफ्नो विशिष्ट डिजाइन, आकर्षक स्वरूप र आरामदायी यात्राका कारण विश्वभर परिचित ब्रान्डका रूपमा स्थापित भएको छ। लामो समयदेखि विश्वका विभिन्न बजारमा उपस्थिति जनाउँदै आएको भेस्पाले नेपाली बजारमा पनि आफ्नो पहिचान बनाउँदै गएको उनले बताए।
धनगढीमा आधिकारिक सोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिममा भेस्पा तथा अप्रिलियाका स्कुटरको बिक्रीसँगै बिक्रीपछिको सेवासमेत स्थानीय स्तरमै उपलब्ध हुने कम्पनीले जनाएको छ।

दसैँ–तिहारलाई लक्षित गरी योजना
भेस्पाका डेपुटी जनरल म्यानेजर विकास शाहले दसैँ–तिहारलाई लक्षित गरी भेस्पा तथा अप्रिलियाका स्कुटर खरिदमा विभिन्न योजना सार्वजनिक गरिएको जानकारी दिए।
उनका अनुसार ग्राहकका लागि उपहार, एक्सचेन्ज तथा किस्ताबन्दी सुविधासहितका विकल्प उपलब्ध छन्। चाडपर्वको समयमा नयाँ स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी कम्पनीले विभिन्न सुविधा ल्याएको उनले बताए।
बिक्रीसँगै मर्मत र बिक्रीपछिको सेवा
धनगढी–४ चटकपुरमा सञ्चालनमा आएको नयाँ सोरुमबाट भेस्पा र अप्रिलियाका विभिन्न मोडलका स्कुटर बिक्री गरिनेछ।
ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार मोडल छनोट गर्न आवश्यक परामर्श उपलब्ध गराउनुका साथै स्कुटरको मर्मतसम्भार तथा बिक्रीपछिको सेवा समेत प्रदान गरिने सोरुमले जनाएको छ।
आधिकारिक सोरुम तथा सेवा केन्द्र सञ्चालनमा आएपछि सुदूरपश्चिमका ग्राहकले स्कुटर खरिद, मर्मत तथा आवश्यक सेवाका लागि प्रदेशबाहिर जानुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ। सोरुम सञ्चालकले आधुनिक डिजाइन, प्रविधि र सुविधासहितका भेस्पा तथा अप्रिलिया ब्रान्डका स्कुटरले सुदूरपश्चिमका ग्राहकको आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।
धनगढीमा अन्तर्राष्ट्रिय ब्रान्डका दुई स्कुटरको आधिकारिक बिक्री केन्द्र सञ्चालनमा आउनुले सुदूरपश्चिमको दुईपांग्रे सवारीसाधन बजारमा ग्राहकका लागि थप विकल्प सिर्जना गरेको छ।