अत्तरियामा कुकुरजस्तो देखिने पशु काटेको आरोपमा ६४ वर्षीय व्यक्ति पक्राउ

भर्खरै

धनगढी, ८ असोज/कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा कुकुरजस्तो देखिने पशु काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ६४ वर्षीय सुरेश दमाई रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीले बिहीबार दमाईलाई आफ्नै घरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार दमाईले कुकुर काटेको भन्ने सूचनाका आधारमा प्रहरी टोली उनको घरमा पुगेको थियो। घरमा काटेर पोलेको अवस्थामा कुकुरजस्तो देखिने पशुसमेत फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराका अनुसार बरामद गरिएको पशु कुकुर नै हो वा स्याल अथवा अन्य कुनै जनावर हो भन्ने तत्काल यकिन भइसकेको छैन।
‘कुकुरजस्तो देखिने पशु काटेर पोलेको अवस्थामा बरामद भएको छ। त्यो कुकुर हो कि स्याल वा अन्य कुनै पशु हो भन्ने परीक्षणपछि मात्रै खुल्छ,’ डीएसपी महराले भने।
प्रहरीले बरामद गरिएको मासु तथा पशुको अवशेष परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाएको जनाएको छ । प्रयोगशाला परीक्षणबाट बरामद पशुको पहिचान भएपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
पक्राउ परेका दमाईमाथि प्रहरीले घटनाको प्रकृति र परीक्षणबाट प्राप्त विवरणका आधारमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
घटनामा कुन जनावर काटिएको हो भन्ने विषय नै यकिन नभइसकेकाले प्रहरीले परीक्षणको प्रतिवेदनपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुने बताएको छ।