धनगढी/आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म सुदूरपश्चिमसहित देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना देखिएपछि कैलाली जिल्ला विपद् व्यवस्थापन समितिले विपद् न्यूनीकरण र उद्धारका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भारी वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, गोपान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको हो।
मौसम पूर्वानुमान महाशाखाले असोज ५ गते जारी गरेको विशेष मौसम बुलेटिनलाई आधार बनाउँदै समितिले सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न निर्णय गरेको छ।
नदीको जलस्तर निरन्तर निगरानी गर्न निर्देशन
समितिले कर्णाली नदीको बनियाघाट र मोहना नदीको जलस्तर मापन केन्द्रसहित जिल्लाका प्रमुख नदीहरूको जलसतहसम्बन्धी सूचना निरन्तर ‘अपडेट’ राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
नदीको जलस्तर बढ्न सक्ने अवस्था आएमा नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई समयमै सूचना प्रवाह गरी सजग गराउने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणका लागि सुरक्षा निकाय, स्थानीय तह तथा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निर्णय गरिएको छ।
डोजर, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिने
बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सडक डिभिजन, हेभी इक्विपमेन्ट, स्थानीय तह र ट्राफिक प्रहरी कार्यालयले डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।
सडक अवरुद्ध भए तत्काल खुलाउन आवश्यक समन्वय गर्ने र उपकरणको प्रयोग प्रभावकारी रूपमा गर्ने व्यवस्था मिलाउन भनिएको छ।

उद्धारका लागि रबरबोट र मोटरबोट तयारी अवस्थामा
बाढी तथा डुबानको सम्भावित जोखिमलाई ध्यान दिँदै सुरक्षा निकायलाई रबरबोट, मोटरबोटलगायत उद्धार सामग्री तयारी अवस्थामा राख्न समितिले निर्देशन दिएको छ।
यसले बाढी तथा डुबानमा परेकाको तत्काल उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
कर्णाली नदी कटान रोक्न अस्थायी उपाय
टीकापुर नगरपालिका–५ लगायतका क्षेत्रमा कर्णाली नदीले कटान गरिरहेको भन्दै समितिले तत्काल कटान रोकथामका लागि टीकापुर नगरपालिका कार्यालय र सुरक्षा निकायबीच समन्वय गरी आवश्यक अस्थायी व्यवस्था मिलाउने निर्णय गरेको छ।
त्यस्तै जिल्लाका अन्य जोखिमयुक्त क्षेत्रमा जैविक तटबन्ध निर्माणका लागि सम्बन्धित स्थानीय तह र सुरक्षा निकायले आवश्यक समन्वय गर्ने निर्णयसमेत भएको छ।
स्थानीय तहले विपद् व्यवस्थापनमा थप जिम्मेवारी लिनुपर्ने
बैठकले स्थानीय तहका विपद् व्यवस्थापन योजना निर्माण, विपद्को समयमा सरोकारवालासँग समन्वय तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
सबै स्थानीय तहबाट विपद् सम्बन्धी योजना निर्माण सहजकर्ता तथा जिल्ला विपद् समन्वय एवं सूचना सञ्चारकर्मीका रूपमा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको पूर्ववत् जिम्मेवारीसमेत सम्पादन गर्ने गरी सूचना व्यवस्थापन अधिकृतलाई निरन्तरता दिने निर्णय गरिएको छ।
स्थानीय तहबाट रेडक्रसलाई १ लाख
विपद्को समयमा आवश्यक राहत तथा उद्धारका लागि जिल्लाका सबै स्थानीय तहबाट नेपाल रेडक्रस सोसाइटी कैलालीलाई प्रति स्थानीय तह १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत समितिले गरेको छ। यसअघि भएका निर्णय कार्यान्वयन नगरेका स्थानीय तहलाई समेत उक्त निर्णय कार्यान्वयन गर्न भनिएको छ।
समितिले भारी वर्षाको सम्भावनालाई सामान्य रूपमा नलिई नदीको जलस्तर, सडक अवस्था र जोखिमयुक्त बस्तीको निरन्तर निगरानी गर्न तथा सूचना प्राप्त हुनासाथ उद्धार र राहतका लागि परिचालन हुन सबै सम्बन्धित निकायलाई आग्रह गरेको छ।




