धनगढी/राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा ‘सुदूरपश्चिम युवा संघ पेनाल्टी कप–२०८३’ आयोजना हुने भएको छ।
युवालाई खेलकुदमार्फत सकारात्मक सहभागिता, स्वस्थ प्रतिस्पर्धा, अनुशासन र आपसी सहकार्यको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आगामी असोज २४ गते सञ्चालन हुने प्रतियोगिता खुला पेनाल्टी प्रहार प्रतियोगिताका रूपमा आयोजना गरिनेछ। प्रतियोगितामा ३२ टोली सहभागी हुनेछन्। प्रत्येक टोलीमा ६ जना खेलाडी रहने व्यवस्था गरिएको राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष बिनोद बिष्टले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले ५१ हजार रुपैयाँ, द्वितीयले ३१ हजार रुपैयाँ र तृतीय हुने टोलीले २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको मुख्य उद्देश्य युवाको खेलकुदमा सहभागिता बढाउनुका साथै स्थानीय तथा प्रदेशस्तरमा रहेका खेल प्रतिभालाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।
राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज रोहित कुँवरका अनुसार प्रतियोगितामार्फत युवामा आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र खेलभावनाको विकास गर्ने लक्ष्य राखिएको छ। साथै विभिन्न क्षेत्रका युवाबीच परिचय, मित्रता र सहकार्य बढाउने अपेक्षा गरिएको उनले बताए।
आयोजकका अनुसार आगामी वर्षहरूमा पनि युवा खेलाडी केन्द्रित प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्ने आधार तयार गर्ने उद्देश्य रहेको छ। दशैं, तिहार तथा छठ पर्वको अवसरलाई लक्षित गर्दै युवालाई खेलकुदसँग जोड्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको आयोजकले जनाएको छ।



