भिम चौधरी/म फिल्म टाइम पास र मनोरञ्जनका लागि हेर्न जान्छु । केही घण्टा रमाइलो गर्ने, दैनिक जीवनको तनाव भुल्ने र नयाँ कथा हेर्ने मेरा लागि फिल्म राम्रो माध्यम हो। बाल्यकालमा फाइट भएका फिल्म मन पर्थे, जवानीमा हास्यव्यंग्य र लभस्टोरीका लागि हल पुग्थेँ । पछिल्लो समय भने फिल्ममा मनोरञ्जनसँगै भावनात्मक अनुभव र नयाँ कथा खोज्न थालेको छु ।
फिल्म हेर्नुअघि म कथावस्तु बुझेर जाने गर्छु । आखिर हलभित्र तीन घण्टा बिताउनुपर्छ । तर, भदौ १८ गते धनगढीस्थित सिनेमा हल पुग्दा मैले फिल्मको कथावस्तु बुझेको थिइनँ । पत्रकारका लागि ‘पार्वती’ फिल्म निःशुल्क हेर्ने अवसर थियो । टिकट पनि नलाग्ने, धेरै दिनदेखि फिल्म पनि नहेरेको र कलाकारहरूसँग भेटघाट गरेर केही समाचारको कन्टेन्ट पनि बन्ला भन्ने सोचले पत्रकार साथीहरूसँगै हल पुगेँ । त्यसमाथि फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना र कलाकार अशोक दर्जी पनि हलमा आउने कुरा थियो । सायद त्यसैले पनि फिल्म हेर्ने इच्छा जागेको थियो ।

बिहान ११ बजेको शो । हलमा अधिकांश दर्शक महिला थिए । फिल्म सुरु भयो । सुरुमा मेरो ध्यान फिल्मभन्दा कलाकार भेट्ने कुरामै बढी थियो । तर, कथा अगाडि बढ्दै जाँदा मेरो ध्यान विस्तारै पर्दातिर तानिन थाल्यो ।
नेपाली फिल्म ‘पार्वती’ अटिजम भएकी दिदी र भाइबीचको निस्वार्थ माया, भावनात्मक सम्बन्ध, स्याहार र पारिवारिक संघर्षको कथा रहेछ । त्यसभन्दा गहिरो कुरा त फिल्मले फरक क्षमता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण र उनीहरूको परिवारले भोग्नुपर्ने पीडा पनि देखाएको रहेछ ।
म आफूलाई मुटु दह्रो भएको मानिस ठान्छु । तर, फिल्म हेर्दै जाँदा आँखामा आँसु भरिए । अन्ततः आँसु थाम्न सकिनँ । मनमनै प्रश्न गरेँ, “म त जीवनको तनाव कम गर्न र मनोरञ्जन गर्न फिल्म हेर्न आएको थिएँ, किन रोइरहेको छु ।?”
त्यसपछि आफैँलाई उत्तर दिएँ, ‘फिल्म मनोरञ्जनका लागि मात्र होइन रहेछ । फिल्म त कहिलेकाहीँ आफूले नदेखेको जीवन देखाउन, नबुझेको पीडा बुझाउन र आफ्नै मनसँग साक्षात्कार गराउन पनि रहेछ ।’

फिल्मले मलाई एउटा परिवार सम्झायो । घरमा अटिजम भएको एक जना सदस्य हुनु भनेको त्यो व्यक्तिले मात्र पीडा भोग्नु होइन रहेछ, पूरै परिवारले त्यो पीडा बोक्नुपर्ने रहेछ । त्यसमाथि आफ्नै दुःखमा बाँचिरहेको परिवारलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार झन् पीडादायी हुँदोरहेछ ।
फिल्म हेर्दै गर्दा अचानक आफ्ना छोराछोरी सम्झिएँ । “बाबा, मलाई साइकल किनिदिनुस् न । टोलमा सबैको छ, मेरो मात्रै छैन ।” छोराछोरीले गरेको त्यो सानो माग सम्झिएँ । ‘किनिदिउँला’ भन्दै टार्दै आएको पनि सम्झिएँ । त्यसपछि मनमा अर्को विचार आयो, अटिजम भएका बच्चाका अभिभावकले पनि आफ्ना सन्तानका लागि साइकल किनिदिन सक्छन्, उनीहरूले चाहेका धेरै कुरा किनिदिन सक्छन् । तर, त्यो साइकल चलाएर रमाउने अवसर भने उनीहरूले नपाउन सक्छन् । त्यो सोचले आफ्ना छोराछोरीप्रतिको मेरो दृष्टिकोण नै बदलिदियो । उनीहरूले माग्छन्, जिद्दी गर्छन्, आफ्ना चाहना सुनाउँछन । यी सबै कुरा सामान्य लागे पनि वास्तवमा कति ठूलो सौभाग्य रहेछ भन्ने महसुस भयो । मेरा बच्चाहरू माग्छन्, जिद्दी गर्छन्, झगडा गर्छन्। आफूलाई चाहिएको कुरा खुलेर भन्छन् । त्यो पनि त एउटा सौभाग्य रहेछ ।
सायद अटिजम भएका बच्चाहरूका चाहना र माग धेरै नहोलान् । तर, मेरा बच्चाका चाहना धेरै छन् । उनीहरूलाई चाहिएको कुरा माग्ने आवाज छ । आफ्ना भावना व्यक्त गर्ने क्षमता छ । त्यसैले हलबाट बाहिरिँदै गर्दा मैले मनमनै एउटा प्रण गरेँ, “अब मेरा बच्चाहरूले केही माग्दा सकेसम्म टार्ने छैन । उनीहरूका साना–साना चाहना पनि पूरा गर्ने प्रयास गर्नेछु । किनकि भगवानले उनीहरूलाई स्वस्थ र सकुशल मेरो काखमा पठाउनुभएको छ । उनीहरूले माग्न सक्छन्, जिद्दी गर्न सक्छन्, रिसाउन सक्छन् र आफ्ना सपना सुनाउन सक्छन । यो आफैँमा ठूलो खुसी रहेछ ।”
म ‘पार्वती’ हेर्न हल पुगेको थिएँ । फिल्म सकियो । तर, कथा सकिएन । पर्दामा देखिएको कथा मनमा बस्यो, आफ्ना छोराछोरी सम्झिएँ र जीवनलाई हेर्ने मेरो दृष्टिकोणमा एउटा नयाँ अध्याय थपियो । सायद यही नै एउटा राम्रो फिल्मको शक्ति हो । हलबाट निस्किएपछि पनि त्यसको कथा मनभित्र चलिरहनु ।
–नेपाली फिल्म ‘पार्वती’ हेरेर फर्किएपछि……



