धनगढी, १८ भदौ/रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीले ६२ हजार ६०३ रुपैयाँ सहयोग गरेको छ ।
सामुदायिक विकास केन्द्र डोटीका कार्यसमिति पदाधिकारी तथा कर्मचारीबाट स्वेच्छिक रूपमा उक्त रकम संकलन गरिएको हो । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिएको संस्थाले जनाएको छ ।
बाढीका कारण ठूलो जनधनको क्षति तथा भौतिक संरचनामा क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै सीडीसी डोटीले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
साथै बाढीबाट प्रभावित तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभ र सामान्य जनजीवनमा फर्कन सक्ने अवस्थाको कामना गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।




