धनगढी, ३१ साउन/तीज पर्व नजिकिँदै गर्दा बजारमा विभिन्न शैलीका गीत सार्वजनिक भइरहेका बेला मौलिकता, पारिवारिक प्रेम र तीजको सांस्कृतिक भाव बोकेको नयाँ तीज गीत ‘पर्वको मर्म’ सार्वजनिक भएको छ।
बद्री पंगेनी र हेमन्ता भट्टराईको स्वर रहेको गीतमा अविशेक खड्का, गीता ढुंगाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय देख्न सकिन्छ। गीतको भिडियो निर्देशन विक्रम चौहानले गर्नुभएको हो।
गीत आज (साउन ३१) गते पुष्कर अवस्थीको YouTube च्यानलमार्फत सार्वजनिक गरिएको हो। पछिल्लो समय तीजको मौलिकता र पर्वको सांस्कृतिक मर्मभन्दा बढी तडकभडक केन्द्रित गीतहरू बजारमा आइरहेको चर्चा भइरहेका बेला ‘पर्वको मर्म’ले भने तीजको धार्मिक तथा पारिवारिक भावलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीतमा पार्वतीले भगवान् शिवको दीर्घायु तथा सुख–शान्तिको कामना गर्दै व्रत बसेको धार्मिक मान्यतालाई आधार बनाइएको छ। श्रीमान्–श्रीमतीबीचको प्रगाढ प्रेम, आपसी विश्वास र पारिवारिक एकताले परिवारलाई सुखी र खुसी बनाउन सकिन्छ भन्ने सन्देश गीतले दिन खोजेको छ।
गीतको शब्द तथा संगीत हेमन्ता भट्टराईको रहेको छ भने एरेन्ज लोकप्रिय गायक, सर्जक तथा एरेन्जर बिनोद बाजुरेलीले गर्नुभएको हो।
भिडियोको छायांकन भक्तपुरको गुन्डु मन्दिरमा गरिएको हो। गीतको अडियो मालाश्री रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको निर्माण पक्षले जनाएको छ।
गायिका हेमन्ता भट्टराईले हरेक वर्ष तीजका अवसरमा जस्तै यस वर्ष पनि दर्शक–श्रोतामाझ मौलिक तीज गीत ल्याएको बताउनुभएको छ। उहाँले गीतलाई माया, सुझाव र प्रतिक्रिया दिँदै टिकटक तथा रिल्समार्फत साथ र हौसला प्रदान गर्ने दर्शक–श्रोता नै आफ्ना लागि भगवान्सरहका शुभचिन्तक भएको बताउनुभएको छ।
भट्टराईले गीतको अडियो तथा भिडियो निर्माणमा जोडिएका सम्पूर्ण कलाकार, प्राविधिक तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभएको छ।



