धार्मिक पर्यटनको केन्द्र जखौर बाबा पुग्ने बाटो हिलाम्मे, भक्तजन र पर्यटक सास्तीमा

भर्खरै

धनगढी, ४ साउन/धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाले परिचित शिव मन्दिर जखौर बाबा पुग्ने सडकको दयनीय अवस्थाका कारण भक्तजन र पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। धनगढी उपमहानगरपालिका–७ मा रहेको यो धार्मिक तथा पर्यटकीय स्थलमा वर्षभर आन्तरिक पर्यटकको चहलपहल रहने भए पनि आधारभूत पूर्वाधारको अभावले यसको आकर्षणमा नै असर परेको छ।

जखौर बाबा मन्दिरसँगै रहेको जाखोर ताल र देवहरिया वनस्पति उद्यान धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ। तर, मन्दिरसम्म पुग्ने केही सय मिटर सडक वर्षायाममा हिलाम्मे हुने गरेको छ।

स्थानीयका अनुसार सडक छेउमा पक्की नाली निर्माण गरिए पनि त्यसपछि सडकमा ग्राभेलसमेत नहालिएकाले नालीभन्दा सडक होचो बनेको छ। वर्षा हुँदा पानी सडकमै जम्ने र हिलो हुने भएकाले मन्दिर पुग्न भक्तजन, पर्यटक तथा स्थानीयलाई दैनिक सास्ती हुने गरेको छ।
श्री शिव मन्दिर जखौर बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कालिराम रानाले उपमहानगरपालिकासँग पटक–पटक सडक मर्मत र ग्राभेल हाल्न आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे।
“उपमहानगरपालिकासँग पटक–पटक बाटो मर्मत र ग्राभेल हाल्न आग्रह गर्‍यौं। तर अहिलेसम्म सुनुवाइ भएको छैन। सामान्य ग्राभेल हालिदिए मात्रै पनि भक्तजन र पर्यटकलाई सहज हुन्थ्यो,” अध्यक्ष रानाले भने।
स्थानीयका अनुसार धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानमार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिरहेको दाबी गरे पनि धनगढीकै नजिक रहेको ऐतिहासिक जखौर बाबा मन्दिरको आधारभूत पूर्वाधार सुधारमा भने पर्याप्त ध्यान नदिएको आरोप छ।

धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यस क्षेत्रको सडक सुधारका लागि ठूलो बजेट आवश्यक नभएको स्थानीयको भनाइ छ। केही सय मिटर सडकमा सामान्य ग्राभेल हालेर सम्याइदिए मात्रै पनि वर्षायाममा भक्तजन र पर्यटकलाई सहज हुने उनीहरूको अपेक्षा छ।
धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचार–प्रसारसँगै त्यहाँ पुग्ने आधारभूत पूर्वाधारको विकास पनि उत्तिकै आवश्यक हुने भन्दै स्थानीयले अब धनगढी उपमहानगरपालिकाले यो समस्यालाई कहिले प्राथमिकतामा राख्छ भन्ने प्रतीक्षा गरिरहेका छन्।