धनगढी, ४ साउन/कैलालीको धनगढीकी एक युवती काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत अवस्थामा फेला परेकी छन्। मृतक धनगढीकी २५ वर्षीया निशा सुनार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार माछापोखरी क्षेत्रमा बस्दै आएकी निशा केही दिनअघि नयाँ बसपार्कस्थित गेस्टहाउसमा बसेकी थिइन्। आइतबार उनी बसेको कोठाबाट दुर्गन्ध आएपछि गेस्टहाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले कोठा खोलेर हेर्दा निशाको शव फेला पारेको थियो। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ भने घटनामा संलग्न भएको आशंकामा सम्बन्धित व्यक्तिहरूको खोजी तथा अनुसन्धान तीव्र बनाइएको एसपी भट्टराईले जानकारी दिए। हत्याको कारण र घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



