बेहडाबाबा मन्दिरमा गंगादशहरा मेलाको आम्दानी–खर्च सार्वजनिक सुनुवाइ असार २७ गते

भर्खरै

धनगढी, २६ असार/श्री बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समिति, धनगढी–१६, रामपुरले गंगादशहरा मेला–२०८३ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले मेलासँग सम्बन्धित सम्पूर्ण आर्थिक विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव र प्रतिक्रिया लिन कार्यक्रम गर्न लागेको जनाएको हो।
समितिका अध्यक्ष खेमबहादुर चन्दले जारी गरेको सूचनाअनुसार सार्वजनिक सुनुवाइ कार्यक्रम असार २७ गते बिहान ११ बजे श्री बेहडाबाबा मन्दिर प्राङ्गणमा सञ्चालन हुनेछ। कार्यक्रममा गंगादशहरा मेलाको आम्दानी, खर्च तथा आर्थिक व्यवस्थापन सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिनेछ।


समितिका अनुसार गंगादशहरा मेला–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। मेलाको आय–व्ययलाई पारदर्शी बनाउन र आम नागरिकसमक्ष वास्तविक विवरण प्रस्तुत गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो। यसमार्फत मन्दिर व्यवस्थापनलाई अझ बढी उत्तरदायी, पारदर्शी र सहभागितामूलक बनाउने लक्ष्य लिइएको समितिको भनाइ छ।
सार्वजनिक सुनुवाइमा उपस्थित सरोकारवाला, स्थानीय बासिन्दा, श्रद्धालु भक्तजन तथा आम नागरिकले मेलाको आर्थिक व्यवस्थापनबारे जिज्ञासा राख्न, सुझाव दिन तथा आवश्यक परामर्श प्रस्तुत गर्न सक्नेछन्। समितिले प्राप्त हुने सुझावलाई आगामी दिनमा मन्दिर तथा धार्मिक मेलाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपयोग गरिने जनाएको छ।
बेहडाबाबा मन्दिर सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थलमध्ये एक हो। हरेक वर्ष गंगादशहराको अवसरमा यहाँ हजारौँ भक्तजनको सहभागितामा भव्य मेला आयोजना हुँदै आएको छ। धार्मिक आस्था, स्थानीय संस्कृति तथा पर्यटन प्रवर्द्धनमा समेत मेलाले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
श्री बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्पूर्ण सरोकारवाला, श्रद्धालु भक्तजन तथा आम नागरिकलाई उपस्थित भई सुझाव, सल्लाह तथा जिज्ञासा राखेर कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।