एसईई आइडल छैटौं संस्करण सुरु, विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित पूर्ण छात्रवृत्ति

भर्खरै

धनगढी, २१ असार/सुदूरपश्चिम प्रदेशस्तरीय नृत्य तथा गायन प्रतियोगिता ‘एसईई आइडल’ को छैटौं संस्करण आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ।
प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन धनगढीस्थित वैशेषिक पाठशालामा आयोजित विशेष समारोहबीच गरिएको हो।
प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश छेडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन धनगढीका अध्यक्ष ध्रुवबहादुर सिंह प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वाइवाइ चाउचाउका सुदूरपश्चिम प्रमुख सुन्दर खनाल र वैशेषिक पाठशालाका प्राचार्य विवेक भट्टको विशेष उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले राज्यले गर्नुपर्ने प्रतिभा विकासको काम निजी क्षेत्रले अघि बढाएको भन्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट वि.सं. २०८३ सालमा एसईई परीक्षा दिएका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिता नृत्य र गायन गरी दुई विधामा सञ्चालन हुनेछ।
आयोजकका अनुसार दुवै विधाका विजेताले नगद १ लाख ११ हजार १ सय ११, ट्रफी, प्रमाणपत्र तथा कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन्। त्यसैगरी, उपविजेताले नगद ५५ हजार ५ सय ५५, ट्रफी, प्रमाणपत्र तथा कक्षा ११–१२ अध्ययनका लागि छात्रवृत्ति पाउनेछन्।
प्रतियोगिताको अडिसन र भिडियो राउण्डहरू २०८३ असारदेखि २०८३ माघसम्म सञ्चालन हुनेछन्। सार्वजनिक तालिकाअनुसार सेमिफाइनल प्रतियोगिता २०८४ वैशाख १५ गते तथा ग्रान्ड फाइनल २०८४ जेठ ५ गते आयोजना गरिनेछ।