धनगढी/कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनासम्बन्धी विवाद अन्ततः समाधान भएको छ। टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले पीडित धनादेवी धामीलाई क्षतिपूर्ति रकम उपलब्ध गराएपछि विवाद टुंगिएको हो।
क्षतिपूर्ति प्राप्त भएसँगै सोही घटनामा पक्राउ परेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरूलाई जनही ७ हजार रुपैयाँ धरौटीमा रिहा गरेको जनाएको छ।
धामीले वन अतिक्रमण हटाउने अभियानका क्रममा आफ्नो टेम्पो भिरबाट फालिएको तथा घरसमेत भत्काइएको भन्दै क्षतिपूर्ति र पुनःनिर्माणको माग गर्दै प्रहरी र प्रशासनमा धाइरहेकी थिइन्। वन कर्मचारीले उनलाई क्षतिपूर्ति स्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा दुवै पक्षबीचको विवाद समाधान भएको हो।
घटनामा संलग्न सुपप्र ०१–००१ ह ३१८० नम्बरको टेम्पो भने गरिमा विकास बैंकको नाममा रहेको खुलेको छ। गोदावरीका कृष्णबहादुर थापाले बैंकबाट ऋण लिएर उक्त टेम्पो खरिद गरेका थिए। ऋण चुक्ता भइसके पनि नामसारी नगरिएकाले सवारीधनीका रूपमा बैंककै नाम कायम रहेको पाइएको छ। धामीले भने उक्त टेम्पो स्थानीय एक व्यक्तिबाट खरिद गरेको बताएकी छन्।
टेम्पो भिरमा फालिएको घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा तानिएको थियो। अभियानका क्रममा वन कर्मचारी नै प्रहरी हिरासतमा पुगेपछि वन अतिक्रमण हटाउने कार्यसमेत प्रभावित बनेको छ।



