धनगढी, ११ फागुन/नेपाली कांग्रेस (वि.पी.) जिल्ला कार्य समिति डडेल्धुराले पार्टी एकताको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छ। आज जारी प्रेस विज्ञप्तिमार्फत पार्टीले एकताको आह्वानप्रति सकारात्मक प्रतिक्रिया दिएको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ कि नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनपछि उत्पन्न विषम परिस्थितिका बीच विधिसम्मत अधिवेशनको पक्षमा उभिएका नेता–कार्यकर्ताको सहभागितामा डडेल्धुरामा विपी कांग्रेस गठन भई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ। पार्टीले जननायक बीपी कोइराला ले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादको सिद्धान्त अनुसरण गर्दै पछिल्ला दुई निर्वाचनमा सहभागिता जनाई सम्मानित जनमत प्राप्त गरेको दाबी गरेको छ।
यसैबीच, १० फागुन २०८२ मा प्रकाशित पार्टी एकताको विज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै, २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका तथा हाल विपी कांग्रेसमा संगठित नेताकार्यकर्तालाई मूल पार्टीमा जोडिन गरिएको आह्वानलाई सकारात्मक रूपमा लिएको जनाइएको छ।
विज्ञप्तिमा डडेल्धुराको सातौं जिल्ला अधिवेशनदेखि हालसम्मको राजनीतिक घटनाक्रमबारे वर्तमान नेतृत्व पूर्ण रूपमा जानकार रहेको स्मरण गराउँदै पार्टी एकताका लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा र सो पार्टीको केन्द्रीय समितिलाई हार्दिक अनुरोध गरिएको छ। विज्ञप्तीमा सभापति भरत नेपालीको हस्ताक्षर रहेको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले पार्टीका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेतालाई पार्टीमा फर्कन आह्वान गरेको थियो । जिल्ला सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गर्दै पार्टीमा फर्केर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार नैनसिंह महरलाई जिताउने अभियानमा लाग्न आह्वान गरेका हुन् ।
जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन पार्टी सभापति मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन साउदले आह्वान गरेका थिए ।
अपिलमा अहिलेको अवस्थामा लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिइएको थियो । पार्टीले ताजा जनादेशलाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
जिल्ला अधिवेशनमा बाहिर राखिएको भन्दै मल्लसहितका नेताहरु बीपी काङ्ग्रेसमा गएका थिए । बीपी काङ्ग्रेसबाटै मल्ल ०७९ सालमा पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध निर्वाचन लड्दै तेस्रो भएका थिए । आसन्न निर्वाचनमा भने बीपी काङ्ग्रेसले उम्मेदवार उठाएको छैन ।



