धनगढी, १९ वैशाख/खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
२०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको थियो । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोईरालालाई समेत दज्र्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।




