बेहडाबाबाको आस्थाले जोड्यो मानव सेवा, बाढीपीडितलाई १ लाख ११ हजार १११ सहयोग

भर्खरै

धनगढी, २० भदौ/धार्मिक आस्था र सामाजिक सेवाको केन्द्रका रूपमा परिचित धनगढीको बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित श्री बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको हो ।
बेहडाबाबाप्रति आस्था राख्ने श्रद्धालु तथा मन्दिर व्यवस्थापन समितिले धार्मिक गतिविधिसँगै विपद्का बेला मानवीय सेवामा पनि हातेमालो गर्दै आएको छ । सोही भावनाअनुसार बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन सहयोग गरिएको समितिले जनाएको छ ।
समितिका कोषाध्यक्ष रतन अधिकारीले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताउनुभयो ।
बेहडाबाबाप्रतिको आस्था केवल पूजा र दर्शनमा सीमित नराखी दुःखमा परेका नागरिकको सेवासँग जोडिनुपर्ने सन्देशसहित समितिले विपद् पीडितका लागि सहयोग गरेको हो ।