हिउँदे आगन्तुक चरा फर्किए, गर्मीयाममा रमाउने पाहुना चरा बच्चा कोरल्न नेपाल आइपुगे

भर्खरै

धनगढी, १ वैशाख/हिउँदे आगन्तुक चरा रमाएर फर्केको बेला गर्मीयाममा रमाउने पाहुना चरा नेपाल आइपुगेका छन् । बच्चा कोरल्नका लागि विभिन्न प्रजातिका चरा नेपाल आइपुगेका हुन् । जसमा कोइली प्रजातिदेखि लिएर स्वर्गचरीसम्म रहेका छन् । हिउँदे आगन्तुक चरा सिमसारमा रमाउँदा गर्मी सिजनमा आउने पाहुना चरा भने गाउँघर र वन क्षेत्रमा रमाउने गर्दछन् ।
दक्षिणतिरबाट नेपाल आउने गर्मी सिजनको आगन्तुक चरामध्ये निकै आकर्षक स्वर्गचरीले गाउँघरमै पुगेर बच्चा कोरल्ने र हुर्काउने गरेका चराप्रेमीहरुको भनाइ छ । यसैगरी, कोइली प्रजातिका कोहो कोइली, जुरे कोइली, ठुलो जुरे कोइली, बिउकुहियो, पपिहा कोइली, काफल पाक्यो, कुक्कु कोइली, पूर्वी कोइली, सानो कोइली, फुस्रो सानो कोइली र हरित कोइलीले वन क्षेत्रमा बच्चा कोरल्ने गरेका जनाइएको छ ।
गर्मी मौसमका आगन्तुक चरा गाउँघरतिर देखा पर्न थालेको वाइल्ड लाइफ फोटोग्राफर कुलराज चौधरीले बताए । ‘बर्सेनि गाउँघरमै बाँस लगायत अन्य रुख बोटविरुवामा स्वर्गचरीले गुँड लगाएर बच्चा कोरल्ने गरेका छन’, चौधरीले भने । मार्चमा नेपाल आएका गर्मी सिजनका आगन्तुक चराहरु छ महिनासम्म नेपालमा रमाउने र बच्चा हुर्काएर फर्कने गरेका जनाइएको छ । अगस्टतिर यस्ता चराहरु बच्चा हुर्काएर फर्कने गरेको चराविद् हिरुलाल डङ्गौराको भनाइ छ । उनका अनुसार गर्मी सिजनका चराहरु दक्षिण भारत, म्यानमार, थाइल्याण्ड, श्रीलङ्का, दक्षिण अफ्रिका लगायतबाट नेपाल आउने गर्दछन् । उता अत्यधिक गर्मी बढ्ने र नेपालको वातावरण अनुकूल रहेका कारण विभिन्न प्रजातिका चरा बच्चा कोरल्न नेपाल आउँने गरेको चौधरीको भनाई छ । मुरली प्रजातिका निलपुच्छ्रे मुरली, कटुस टाउके मुरली, सेतोकण्ठे गौथली, गाजले चरी, घाँसे घाँसचरी, निलो रबिन, चित्रक पिट्टा, गाजले पिट्टा लगायतका चरा पनि नेपाल आइपुगेका छन् । यस्ता चराहरु नेपालको तराईदेखि मध्य पहाडसम्म पुग्ने गरेको जनाइएको छ ।
गर्मी मौसमको आगन्तुक चराका आगमनले रौनक बढेको नेचरगाइड सुवन चौधरीको भनाइ छ । उनले कञ्चनपुरको सामुदायिक वन क्षेत्रहरुमा स्वर्गचरी लगायत कोइली प्रजातिको उपस्थिति बढेको बताए ।