धनगढी, १६ भदौ/नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
नेपाली कांग्रेसको ‘एकद्वार नीति’ अनुसार उक्त रकम नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा व्यवस्थापन कोषमा पठाइने क्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालले जानकारी दिए।
सभापति पडालका अनुसार विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले क्षेत्रीय समितिको तर्फबाट रकम प्रदान गरिएको हो। उनले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए।
यसैबीच कांग्रेस क्षेत्र नम्बर ५ कैलालीले बाढी तथा प्राकृतिक विपद्का क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।



