भोटेकोशी बाढीपीडितको साथमा सि.पि. अस्पताल, कर्मचारीदेखि प्रशासनसम्मको सामूहिक सहयोग

भर्खरै

धनगढी, १५ भदौ/भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन सि.पि. अस्पताल परिवार एकजुट भएको छ।
अस्पतालका कर्मचारी तथा प्रशासनले आफ्नो तर्फबाट स्वेच्छिक रूपमा रकम योगदान गर्दै ३ लाख ३५ हजार ३३५ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।
विपद्का कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई तत्काल राहतसँगै पुनर्स्थापनामा सहयोग आवश्यक रहेको भन्दै अस्पताल परिवारले आफ्नो सामर्थ्यअनुसार सहयोग गरेको जनाएको छ।


अस्पतालले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै सि.पि. अस्पतालले अन्य व्यक्ति तथा संस्थालाई पनि राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न आग्रह गरेको छ।
अस्पतालका अनुसार कर्मचारी र प्रशासनको स्वेच्छिक योगदानबाट संकलित तीन लाख ३५ हजार ३३५ राहत कोषमा जम्मा गरिएको हो।