धनगढी, १४ भदौ/सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा खगेन्द्रराज पनेरु निर्वाचित भएका छन्। शनिबार धनगढीमा सम्पन्न निर्वाचनमा पनेरुले ५४ मत प्राप्त गर्दै प्रतिस्पर्धी श्यामराज जोशीलाई १६ मतले पराजित गरेका हुन्। जोशीले ३८ मत प्राप्त गरे।
नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास सफल नभएपछि राजेन्द्रप्रसाद पनेरु र श्यामराज जोशीको छुट्टाछुट्टै प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
एसोसिएसनको उपाध्यक्ष (प्रशासन) मा टेकबहादुर बोहरा निर्वाचित भएका छन्। बोहराले ५३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गणेश कँडेलले ३९ मत पाए।
त्यस्तै, महासचिवमा जयशंकर ठाकुर निर्वाचित भएका छन्। ठाकुरले ५४ मत प्राप्त गर्दा बासुदेव आचार्यले ३८ मत पाए। सचिवमा विवेक बिष्ट ६० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी तपेन्द्र चन्दले ३२ मत प्राप्त गरे।
कोषाध्यक्षमा सुमन सापकोटा ४७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी केशव दत्त भट्टले ४२ मत प्राप्त गरे।
सदस्यतर्फ डम्बर खत्रीले सर्वाधिक ६६ मत प्राप्त गरेका छन्। मोहनसिंह बिष्टले ५७, सुनिल थापाले ५२, भवानीप्रसाद जैसीले ५३, जैनिशप्रसाद चौधरीले ५१, चक्रबहादुर बोहराले ५० र हरिप्रसाद ढकालले ४८ मत प्राप्त गरेका छन्।
यसअघि दीपक बिष्ट उपाध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए।



