धनगढी, २४ साउन/यस वर्ष धान रोपाइँमा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि देखिएको छ । कृषि विभागका अनुसार साउन २२ गतेसम्म प्रदेशको लक्षित १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमै धान रोपाइँ सम्पन्न भएको छ ।
देशभर भने हालसम्म ९६.०६ प्रतिशत धान खेतीयोग्य क्षेत्रफलमा रोपाइँ सकिएको छ । कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
सुदूरपश्चिमपछि बागमतीमा ९७.८२, लुम्बिनीमा ९७.३७ र कर्णालीमा ९६.८२ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै गण्डकीमा ९५.५७, मधेशमा ९४.६५ र कोशीमा ९३.६९ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति तीव्र देखिएको छ । गत वर्ष साउन २२ गतेसम्म देशभर ९१.३१ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । समयमै मनसुन सक्रिय हुनु र पर्याप्त वर्षा हुनुले किसानलाई धान रोपाइँमा सहज भएको कृषि अधिकारीहरूको भनाइ छ ।



