धनगढी, २१ साउन/धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित दक्ष इन्टरनेशनल स्कूलले विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुदृष्टि आँखा केन्द्रसँगको सहकार्यमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयमा अध्ययनरत ५ देखि ११ वर्ष उमेर समूहका विद्यार्थीहरूको आँखा परीक्षण गरिएको हो।
धनगढी–५, हसनपुर (घराना चुलो अगाडि) रहेको सुदृष्टि आँखा केन्द्रले कार्यक्रमका लागि प्राविधिक सहयोग उपलब्ध गराएको थियो। उक्त केन्द्र गेटा आँखा अस्पतालमा पूर्वकार्यरत डा. सावित्री भट्टद्वारा सञ्चालन हुँदै आएको छ।
विद्यालयका प्रिन्सिपल निर्मल सिंहले विद्यालयको वार्षिक कार्यतालिकाअनुसार सुदृष्टि आँखा केन्द्रसँगको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय बालबालिकामा मोबाइल, ट्याबलेट र कम्प्युटरको बढ्दो प्रयोग अर्थात् स्क्रिन टाइमका कारण आँखासम्बन्धी समस्या बढ्दै गएकाले विद्यार्थीको आँखाको स्वास्थ्य परीक्षण आवश्यक ठानिएको हो।
प्रिन्सिपल सिंहले समयमै समस्या पहिचान गर्न सके उपचार र आवश्यक परामर्शमार्फत विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका विद्यार्थीको आँखा परीक्षण गरिएको र आगामी दिनमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।
कार्यक्रमप्रति खुसी व्यक्त गर्दै अभिभावक रोहित कठायतले विद्यालयको पहलको प्रशंसा गर्नुभयो। उहाँले आँखा परीक्षणबाट आफ्ना बालबालिकाको आँखामा कुनै समस्या भए–नभएको समयमै थाहा पाउन सहयोग पुगेको बताउँदै विद्यालयले यस्ता स्वास्थ्य परीक्षण, शारीरिक फिटनेस तथा अन्य विद्यार्थीकेन्द्रित कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
विद्यालयले आधुनिक शिक्षा, संस्कार, सुरक्षित सिकाइ वातावरण र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै आएको जनाएको छ। EYFS (Early Years Foundation Stage) पाठ्यक्रमसँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयले स्वास्थ्य, खेलकुद तथा जीवनोपयोगी सीपसम्बन्धी गतिविधिलाई पनि नियमित रूपमा अघि बढाइरहेको जनाएको छ।



