धनगढी, २० साउन/कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण सम्पन्न भएको १५ शैय्याको कैलारी आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। संघीय सरकारको करिब १८ करोड ५२ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको अस्पतालको सोमबार गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले उद्घाटन गरेका हुन्।
नेपाल सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शैय्याको आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुसार भवन निर्माण सम्पन्न भए पनि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन। अब गाउँपालिकाले आफ्नै स्रोतबाट जनशक्ति व्यवस्थापन गरेपछि अस्पतालबाट नियमित स्वास्थ्य सेवा सुरु गरिएको हो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीका अनुसार अस्पतालमा हाल एक जना मेडिकल अफिसरसहित आवश्यक स्वास्थ्यकर्मी परिचालन गरिएको छ। अस्पतालबाट ओपिडी, आकस्मिक सेवा, फार्मेसी, एक्स–रे लगायतका आधारभूत स्वास्थ्य सेवाहरू सञ्चालनमा आइसकेका छन्।
उनका अनुसार आगामी दिनमा अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार गर्दै लैजाने योजना रहेको छ। सुविधासम्पन्न भवन भएकाले क्रमिक रूपमा विशेषज्ञ सेवा, प्रयोगशाला तथा अन्य अत्यावश्यक स्वास्थ्य सेवा पनि थपिने तयारी भइरहेको उनले बताए।
कैलारी आधारभूत अस्पतालको भवन निर्माणका लागि २०७९ असार २९ गते रोयल कन्स्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता गरिएको थियो। अस्पताल निर्माणका लागि बैजपुरका स्थानीय बासिन्दाले तत्कालीन सर्वोदय प्राथमिक विद्यालय रहेको १२ कट्ठा जग्गा उपलब्ध गराएका थिए। स्थानीयवासीको सहयोग र संघीय सरकारको लगानीमा निर्माण सम्पन्न भएको अस्पताल अहिले सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले आफ्नै गाउँपालिकाबाट सहज स्वास्थ्य सेवा पाउने भएका छन्।
यसअघि सामान्य उपचारका लागि समेत धनगढी, टीकापुर वा अन्य स्थानका अस्पताल पुग्नुपर्ने बाध्यता रहेका स्थानीय अब आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने अवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ।
स्थानीय सरकारका जनप्रतिनिधिले अस्पताल सञ्चालनसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आवश्यक उपकरण, औषधि तथा जनशक्ति थप गरी अस्पताललाई क्रमशः थप सुविधासम्पन्न बनाइने बताएका छन्। कैलारी गाउँपालिकाको यो अस्पताल सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने विश्वास गरिएको छ।



