धनगढी, १६ साउन/धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पिपल चौतारा बजार व्यवस्थापन समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको सहआयोजनामा भएको कार्यक्रममा १२ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । समितिको १४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिनेश बिष्टले जानकारी दिनुभयो ।
समितिका अध्यक्ष दिनेश बिष्टका अनुसार स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मानव जीवन बचाउन सहयोग पुग्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा धनगढी उपमहानगरपालिका–५ का वडा अध्यक्ष गजेन्द्र शाही, बजार व्यवस्थापन समितिका अध्यक्ष दिनेश बिष्ट, समितिका पदाधिकारी तथा सदस्य, स्थानीय बासिन्दा, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाएका थिए। सहभागीमध्ये स्वेच्छिक रक्तदाताबाट १२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।
रक्तदान गर्ने सबैलाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्र वितरण गर्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले सामाजिक उत्तरदायित्व बहन गर्ने अवसर दिएकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता मानवीय र सामाजिक अभियानमा अस्पतालले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै रक्तदाताहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गजेन्द्र शाहीले बजार व्यवस्थापन समितिले बजारको व्यवस्थापनमा मात्र सीमित नरही रक्तदानजस्ता मानवीय कार्यमार्फत समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायमा सामाजिक एकता र सेवाभावको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

रक्तदान कार्यक्रम सञ्चालनका लागि सामुदायिक प्रहरी सेवा केन्द्रले सभाहल उपलब्ध गराएको थियो। आयोजकका अनुसार संकलित रगत विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको आवश्यकताअनुसार प्रयोग गरिनेछ । यस्ता कार्यक्रमले रगतको अभाव न्यूनीकरण गर्नका साथै स्वेच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।




