बेहडाबाबा मन्दिर परिसरमा रक्तदान, २५ पिन्ट रगत संकलन

भर्खरै

धनगढी, १६ साउन/धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित श्री बेहडाबाबा मन्दिर परिसरमा शनिबार रक्तदान कार्यक्रम भएको छ । मानव जीवन बचाउने उद्देश्यले आयोजित कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको आयोजनामा तथा उद्यमी कृषक कृषि सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी कैलालीको सौजन्यमा कार्यक्रम सञ्चालन गरिएको हो । पछिल्लो समय रगतको अभाव भइरहेका बेला रक्तदान कार्यक्रममार्फत बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।
कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाउँदै स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक टोलीले रक्त संकलन तथा स्वास्थ्यसम्बन्धी आवश्यक व्यवस्थापन गरेको थियो ।
आयोजकका अनुसार संकलित २५ पिन्ट रगत जिल्ला तथा प्रदेशका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको आवश्यकताअनुसार उपयोग गरिनेछ । नियमित रक्तदानले रगतको अभाव न्यूनीकरण गर्नुका साथै आपत्कालीन अवस्थामा बिरामीको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ ।