धनगढी, २३ असार/सुदूरपश्चिम प्रदेशका विद्यार्थी तथा युवालाई आफ्नो रुचि, क्षमता र श्रम बजारको मागअनुसार सही करियर छनोट गर्न सहयोग गर्ने उद्देश्यले धनगढीमा ‘वृत्ति मार्गनिर्देशन सेवा केन्द्र’ सञ्चालनमा आएको छ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र, धनगढी (हसनपुर) मा स्थापना गरिएको केन्द्रको उद्घाटन प्रदेश सरकारका राज्यमन्त्री मधुदेवी भारती र प्रदेश नीति तथा योजना आयोगका सचिव गणेशबहादुर सिंहले संयुक्त रूपमा गरेका हुन्।
नयाँ केन्द्रमार्फत कक्षा ८, ९ र १० का विद्यार्थी तथा युवाले व्यक्तिगत तथा सामूहिक करियर परामर्श, अभिभावक अभिमुखीकरण, डिजिटल माध्यमबाट करियर मार्गनिर्देशन तथा अनलाइन श्रम बजारसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्। संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको डिजिटल प्रणालीमार्फत साइकोमेट्रिक परीक्षण गरी विद्यार्थीको रुचि, क्षमता र सम्भावित पेशाबीच मेल गराउने व्यवस्था गरिएको छ।
केन्द्रमा प्रशिक्षित वृत्ति परामर्श सहजकर्ता तथा दक्ष परामर्शदाताबाट सेवा उपलब्ध गराइनेछ। साथै माध्यमिक तहका शिक्षकलाई विद्यालयमै वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन गर्न आवश्यक तालिम पनि प्रदान गरिने जनाइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री मधुदेवी भारतीले केन्द्रको भौतिक संरचना सानो भए पनि यसको उद्देश्य निकै ठूलो रहेको बताइन्। डिजिटल प्रणालीमार्फत विद्यार्थीले आफ्नै क्षमता परीक्षण गरी भविष्यको करियर छनोट गरिरहेको अभ्यास सकारात्मक भएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रम प्रदेशभर विस्तार गर्नुपर्नेमा जोड दिइन्।
प्रदेश नीति तथा योजना आयोगका सचिव गणेशबहादुर सिंहले विद्यालय तहदेखि नै करियर मार्गनिर्देशन उपलब्ध गराउन सके सक्षम, आत्मनिर्भर र चरित्रवान नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए। सेवा प्रभावकारी बनाउन विद्यालय र प्रशिक्षित वृत्ति मार्गनिर्देशन शिक्षकको संख्या बढाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास मन्त्रालयका शिक्षा, योजना तथा अनुसन्धान महाशाखा प्रमुख जयदेव महराले प्रदेशका ५४ विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। हालै थप ३२ नमुना विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा स्थानीय तहका रोजगार सेवा केन्द्रसँग सहकार्य गरी विभिन्न पालिकामा उपकेन्द्र स्थापना गर्दै सेवा विस्तार गरिने बताए।
कार्यक्रममा हेल्भेटास नेपालको ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर)’ परियोजनाले प्राविधिक सहयोग गरेको जानकारी दिइयो। उद्घाटनकै अवसरमा पञ्चोदय माध्यमिक विद्यालयका २० जना विद्यार्थीको अनलाइन वृत्ति छनोट परीक्षणसमेत गरिएको थियो।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) सुदूरपश्चिम प्रदेश कार्यालय, स्किल ल्याब, सामी कार्यक्रम, स्वीसकन्ट्याक्टलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।



