आजदेखि दसौँ टी–२० विश्वकप, तेस्रो पटक खेल्दै नेपाल

भर्खरै

धनगढी, २४ माघ/क्रिकेटको छोटो संरचनाको महाकुम्भ आज (शनिबार) सुरु हुँदै छ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।
आइसिसी टी–२० विश्वकपको दसौँ संस्करणमा २० टिम सहभागी छन् । विश्वका यी २० उत्कृष्ट क्रिकेट टिमबिच सर्वश्रेष्ठको चयन गर्न ३० दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन् । त्यसपछि फागुन २४ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।
२०/२० ओभरको क्रिकेट सन् २००३ जुनमा सुरु भएको हो ।क्रिकेटको विभिन्न संरचनामध्ये टी–२० अहिले सबैभन्दा रुचाइएको स्वरूप हो । अन्य स्वरूपमा क्रिकेट पाँच दिन, एक दिन चल्ने भएकाले परिणाम र समयको हिसाबले क्रिकेटको क्रेज कम हुँदै गयो । यो खेल कम मुलुकमा खेलिन थाले । त्यसपछि यो खेलको समय घटाउने आवश्यकता महसुस गरी टी–२० क्रिकेटको प्रचलन सुरु भएको हो । जुन निकै सफल भयो । त्यसले पनि आइसिसीले टी–२० विश्वकप दुई वर्षपिच्छे आयोजना गर्छ । प्रायः विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुने गर्छ । आइसिसीले नै आयोजना गर्ने एकदिवसीय क्रिकेटको विश्वकप प्रत्येक चार वर्षमा मात्र हुने गर्छ ।
तेस्रो पटक विश्वकप खेल्दै नेपाल
करिब चार महिनाअघि ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पियन भएर नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको हो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको हो । नेपालले विश्वकपमा पहिलो सहभागितामै अनपेक्षित रूपमा तीनमध्ये दुई खेल जितेर विश्वलाई प्रभावित पारेको थियो । त्यसपछि नेपाली क्रिकेट समर्थकको हरेक पटक नेपालले अर्को विश्वकप क्रिकेट खेल्ने अपेक्षा रह्यो तर नेपाललाई अर्को विश्वकप खेल्न दस वर्ष लाग्यो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको पछिल्लो विश्वकपमा खेल्दा नेपालको चर्चा चुलिएको थियो ।
नेपाली क्रिकेटले अब पुनः विश्वकपको मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाएको छ । चालु विश्वकप छनोटमा गरेको प्रदर्शन र यसअघि दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएकाले पनि आगामी विश्वकपमा नेपाल हेर्नलायक टिमका रूपमा हेरिएको छ । अझ विश्वकपका दुई ‘वार्म’ खेलमा पनि संयुक्त अरब इमिरेट्स र क्यानडालाई सजिलै हराएपछि नेपाल शानदार लयसहित भारतमा छ । त्यसैले पनि नेपालले यसपालि सुपर आठमा पुग्ने सपना देख्दै छ ।
नेपाल समूह ‘सी’ मा रहेको छ । सो समूहमा दुई पटकको विजेता टिम इङ्ग्‌ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड पनि रहेका छन् । भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय लिएपछि स्कटल्यान्डको भाग्योदय भएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्न लागेको हो । एक दिनअघि सहभागी कप्तानसँगको प्री म्याच कन्फ्रेन्समा नेपालका कप्तान रोहित पौडेलले पछिल्ला दुवै विश्वकपमा नजिक पुगेर पनि अर्को चरणमा पुग्न नसकेको भन्दै यसपालि आफ्नो टिमले सुपर आठको लक्ष्य बनाएको बताउनुभएको छ । आफ्नो समूहमा दुई एसोसिएट राष्ट्र र वेस्ट इन्डिजविरुद्ध शृङ्खला जितेकाले पनि कप्तान रोहितको भनाइमा दम देखिन्छ ।
पहिलो र दोस्रो पटक विश्वकप खेल्दा सानो माछाका रूपमा आकलन गरिएको नेपाल अब उलटफेर गर्न सक्ने टिम बनिसकेको छ । नेपाली समर्थकले पनि नेपालले यसपालि पछिल्लो पटकको सहभागितामा भन्दा थप उपलब्धि हासिल गर्ने आशा गरेका छन् । नेपाली टिमले खेल्ने खेलको टिकट सबै बिक्री भइसकेकाले पनि नेपाली समर्थकको चर्चा विश्वकप सुरु हुनुअघि नै भइसकेको छ । विश्वकपमा भारतपछि नेपालको टिकट चाँडै ‘सोल्ड आउट’ भएको छ ।