कैलालीमा रातभरकाे वर्षाले नदीमा जल सतह बढ्यो

५ भाद्र, काठमाडौं : कैलालीमा गएरातिदेखि भारी वर्षा भइरहेको छ ।  जिल्लाको अधिकांश स्थानमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ ।

मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो ६ घण्टामा धनगढीमा ९०.२ मिलिमिटर वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “धनगढीमा अहिले पनि वर्षा भइरहेको छ,” उनले भने, “विस्तारै कञ्चनपुरमा पनि वर्षा हुने देखिएको छ ।”

मधेस प्रदेश तथा वाग्मतीका विभिन्न स्थानमा वर्षा भइरहेको उनको भनाइ छ । “आज दिउँसो थप वर्षा हुने देखिएको छ,” उनले भने ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।  न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।

तपाईको प्रतिक्रिया