प्रदेश कार्यालय सञ्चालनका लागि मुख्यमन्त्री शाहले थाले पहल

धनगढी, ३ असोज/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ध्वस्त संरचनाहरूको मर्मत तथा पुनर्निर्माण गरेर कार्यालय सञ्चालन गरी जनतालाई सेवा दिने विषयमा कर्मचारी तथा विकास साझेदारहरूसँग छलफल गर्नुभएको छ । मुख्यमन्त्री शाहले छिटोभन्दा छिटो कार्यालय सञ्चालन गरी जनतालाई सेवाप्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । जस्तोसुकै विषम परिस्थितिमा पनि जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेकोमा मुख्यमन्त्री शाहको जोड छ ।
छलफलकै क्रममा मुख्यमन्त्री शाहले विकास साझेदारहरूसँग प्रदेशका कार्यालयहरू सञ्चालन तथा पुननिर्माणका विषयमा छलफल गर्नुभएको थियो। यसअघि मुख्यमन्त्री शाहले मङ्गलबार प्रदेशस्थित ध्वस्त २९ वटा कार्यालयहरूको भौतिक संरचनाको निरीक्षण गर्नुभएको थियो।
भाद्र २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा प्रदेश तथा संघीय सरकारका भौतिक संरचनाहरु ध्वस्त भएपछि कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध भएको छ । प्रदेश कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध भएसँगै जनताले झेन्दै आएको सास्तीलाई मध्यनजर गर्दै प्रदेश सरकार सेवा सुचारू गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया