धनगढी, ३ असोज/सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस मनाएको छ । नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पूरा भएको अवसरमा सरकारले शुक्रबार धनगढीमा औपचारिक कार्यक्रम गरेर दिवस मनाएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधा
नले मार्गचित्र प्रदान गरेको बताउनुभयो । ‘यस वर्षको संविधान दिवस हामीले गहिरो पीडा र मिश्रित भावनाका साथ मनाइरहेका छौ’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘जेन–जी युवा पुस्ताद्धारा आह्वान गरिएको प्रदर्शनका क्रममा भदौ २३ र २४ गतेका दिन भएका दुःखद घटनाले हामीलाई गहिरो पीडा र शोकमा डुबाएको छ । हाम्रो समाजलाई स्तब्ध बनाएको छ ।’
उहाँले जनधनको क्षतिले सबै नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा सुशासन र समृद्धिको यात्रालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो ।
सभामुख भीम भण्डारीले जेन–जी आन्दोलनबाट नेतृत्वले धेरै पाठ लिनुपर्ने बताउदै संघीयतालाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख नजिर मियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टको विशेष उपस्थिती रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री हिराबहादुर सार्कीले स्वागत गर्नुभएको कार्यक्रममा मन्त्री, उप–सभामुख, बिभिन्न समितिका सभापति, प्रदेश सभा सदस्य, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव, मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुदूरपश्चिमका प्रहरी प्रमुखको उपस्थिति रहेको थियो ।