धनगढी, १ असोज/आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइदैछ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा गरिन्छ । आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर विश्वकर्मा पूजा गरिन्छ ।
हिन्दु संस्कृतिमा विश्वकर्मालाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पु–याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।
यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ । भनिन्छ, भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।
विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । हिन्दु धर्ममा उनलाई निर्माण र सिर्जनाका देवता मानिन्छ । विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ ।