क्षतिग्रस्त संरचनाको मुख्यमन्त्री शाहले गरे निरीक्षण, सुदूरपश्चिमका तीन जिल्लामा बढी क्षति

धनगढी, ३१ भदौ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले जेन–जी आन्दोलनमा क्षतिग्रस्त बनेका सरकारी संरचनाको निरीक्षण गरेको छ । मुख्यमन्त्री शाहसहित मन्त्री र प्रदेश सरकारका कर्मचारीको टोलीले सयुक्त रुपमा क्षतिग्रस्त सरकारी संरचनाको निरीक्षण गरेको हो ।
आन्दोलनमा जलाइएका र तोडफोड गरिएका प्रदेश र संघीय सरकार मातहतका कार्यालय भवनको निरीक्षण गरिएको थियो । निरीक्षणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले जेन–जी आन्दोलनका क्रममा अकल्पनिय घटना घटेको र थुप्रै संरचनामा क्षति पुगेको बताए । प्रदेश सरकारबाट विषय परिस्थितिमा पनि सेवा सुचारुका लागि संयन्त्र परिचालन यसअघि नै भइसकेको दाबी मुख्यमन्त्री शाहको थियो । ‘सेवा सुचारुको अवस्था के छ भन्नेबारे जानकारी लिनका लागि निरीक्षणमा निस्केका हौं,’ उनले भने, ‘दुई–चार दिनभित्र नै सबै सेवा सुचारु गर्ने तयारीमा छौं ।’


२४ भदौमा प्रदर्शनकारीले सरकारी संरचनमा आगजनी र तोडफोड गरेका थिए । त्यसको एक सातासम्म मुख्यमन्त्री शाह र मन्त्रीहरु सार्वजनिक रुपमा सम्पर्कमा थिएनन् । । उनीहरुलाई सेनाले आफ्नो सुरक्षामा राखेको बताइएको थियो । सोमबार मात्रै मुख्यमन्त्री शाह नेपाली काँग्रेस संसदीय दलको बैठकमा देखिएका थिए ।
कैलाली, कञ्चनपुर र डडेल्धुरामा बढी क्षति
जेन–जी पुस्ताको आन्दोलनका क्रममा प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरामा बढी क्षति पुगेको थियो । कैलालीमा क्षतिको प्रारम्भिक विवरण संकलन भइसकेको छ । आन्दोलनका क्रममा कैलालीमा मात्रै एक सय ३७ वटा भवनमा क्षति पुगेको छ । ६ सय ७८ वटा सवारीसाधन जलाइएको छ । यस्तै, जेन–जी आन्दोलनमा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा तीन करोडको क्षति पुगेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार त्यहाँ सरकारी र निजी भवन गरी ३२ वटा भवनमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् ।

तपाईको प्रतिक्रिया