‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्न चाहन्छ’ रेशमले भने, ‘म अब त्यो पार्टीमा हुन्न’

धनगढी, २९ भाद्र/नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूले स्थापना गरेको पार्टीसँगको सबै सम्बन्ध तोडेको घोषणा गरेका छन । मंगलबार फेसबुक लाइभमार्फत भावुक हुँदै उनले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने बताएका छन्।
पार्टीभित्र आफूलाई बारम्बार ‘साधारण सदस्य पनि नरहेको र कानुनी हैसियत नभएको भन्दै अपमानित गरिएको गुनासो पोख्दै उनले यो कठोर निर्णय लिएको बताए । फेसबुक लाइभमा चौधरीले पार्टी स्थापनादेखि अहिलेसम्म आफूले गरेका त्याग र योगदानको एकएक हिसाब प्रस्तुत गरे। ‘मैले दिल्लीबजारको जेलबाटै पार्टीका साथीहरूलाई तातो कफीसँगै स्वागत गर्थेँ, मेरा निर्देशनहरू पालना हुन्थे, मैले खुवाएका भातहरू, केही नेताहरूलाई साढे तीन वर्षसम्म घरभाडा दिएर पालेको कुरा सायद उहाँहरूले बिर्सनुभयो,’ उनले भने।
उनले पार्टी खोल्नका लागि किताब बेचेर आएको पैसा, आफ्नो क्षतिपूर्तिबाट पाएको रकम र निजी सम्पत्तिसमेत बेचेर लगानी गरेको खुलासा गरे। तर, यति गर्दागर्दै पनि आफूले जस नपाएको र उल्टै अपमानित हुनुपरेकोमा उनले गहिरो दुःख व्यक्त गरे।
चौधरीका अनुसार, पार्टीको पछिल्लो बैठकमा उनलाई ‘कानुनी हैसियत नभएको व्यक्ति’ भन्दै बैठकमा उपस्थित गराउन नसकिने कुरा बारम्बार उठाइएको थियो। यही घटनाले उनलाई पार्टीबाट अलग हुन बाध्य बनायो। ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्न चाहन्छु। म अब त्यो पार्टीमा हुन्नँ, म आजबाट अलग अभियानमा छु,’उनले भने।
पार्टीभित्रको आन्तरिक कलह, पदका लागि हुने विवाद र आफूप्रतिको व्यवहारले आजित भएको उनले बताए।
‘कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले मन्त्री चाहियो, कहिले संसदीय दलको नेता परिवर्तन गर्नु पर्यो, म यो सबबाट मुक्त हुन चाहन्छु,’ उनले भने। रेशम चौधरीले राजनीतिक यात्रा नरोक्ने स्पष्ट पारेका छन्। उनले नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ पार्टीको नेतृत्व गर्ने घोषणा गरेका छन्। उनले आफ्नो चुनाव चिह्न पनि पुरानै रहने दाबी गरे।
‘निर्वाचन आयोगले मलाई स्वीकार नगरेसम्म म मेरो एउटा प्रतिमूर्ति स्थापना गर्छु, मेरो विचार र आवाज बोल्ने एकजना विश्वासिलो व्यक्तिलाई अगाडि सारेर म राजनीति गर्नेछु,’उनले सुनाए। उनले धनगढीका मेयर गोपाल हमाल र धरानका मेयर हर्क साम्पाङजस्ता स्वतन्त्र व्यक्तिहरूको सङ्घर्षलाई नियालिरहेको र अब उनीहरूसँग हातेमालो गर्दै अघि बढ्ने इच्छा व्यक्त गरे।
उनले आफूलाई साथ दिने पुराना साथीहरूलाई नयाँ अभियानमा जोडिन आह्वान गरे। उनले नागरिक उन्मुक्ति पार्टीले राजबन्दी रिहाइमा खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतलाई धन्यवाद पनि दिए। तर, त्यसपछिको यात्रा दुःखद् भएको भन्दै अब आफू अलमलिन नचाहेको स्पष्ट पारे।
‘धेरै अलमलिनु भन्दा बाटो बदल्नु नै बेस, आजसम्म साथ दिनुभयो, धेरै धेरै धन्यवाद,’उनले भने। टीकापुर विद्रोहको जगमा २०७८ फागुन ३ गते आफू जेलमा हुँदै रेशमले यो पार्टी खोलेका थिए। छोटो अवधिमै एक्लै चुनावी मैदानमा उत्रेको पार्टी कैलालीमा ठूलो शक्ति बनेर उदाएको थियो। संघतर्फ तीन र प्रदेशतर्फ पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेर यो पार्टी कैलालीमा पहिलो बनेको थियो तर, पछिल्लो समय पार्टीभित्र व्यापक विवादका कारण रेशमले पार्टी खुलेको ४ वर्षमै छोडेका छन्।

तपाईको प्रतिक्रिया