आज श्रीकृष्ण जन्माष्टमी, बेहडाबाबा धाममा श्रद्धा–भक्तिपूर्वक भगवान् श्रीकृष्ण जन्मोत्सव मनाइदै

धनगढी, ३१ साउन/‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक भगवान् श्रीकृष्णको आराधना गर्दै मनाइँदैछ । श्रीकृष्णको पावन अवसरमा धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित श्री बेहडाबाबा धाममा समेत भव्य समारोहकाबिच श्रीकृष्ण जन्माष्टमी मनाइदैछ । आज बिहानैदेखि मन्दिर परिसरभित्र रहेको राधाकृष्ण मन्दिरमा पूजा गर्ने भक्तजनहरुको भिड लागेको छ । श्री बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेमबहादुर चन्दका अनुसार आज बिहान साढे ८ बजे होम गरी एक मास शिव महापुराण धार्मिक महा–महोत्सवको पूर्णभूति गरिनेछ भने साढे ९ बजे औपचारिक कार्यक्रमको आयोजना गरि बिश्राम गरिने बताउनुभयो । अध्यक्ष खेमबहादुर चन्दका अनुसार श्रीकृष्ण जन्माष्टमीको अवसरमा दिउँसो ११ बजे सांस्कृतिक लोक देउडा कार्यक्रम तथा बेलुका ८ बजे घैटोफोड कार्यक्रम गरिनेछ भने त्यसपछि झाँकीसहित कृण लीला गरेर मध्यरातमा कृष्ण जन्मोत्सव भव्यताका साथ मनाइने बताउनुभयो । साउन १ गतेदेखि ३१ गतेसम्म आयोजित शिव महापुराणमा रुद्राभिषेक, श्रृगारिक महाआरती कर्ता भइ पूजा गर्नुभएका तथा श्रद्धालु भक्तजनहरुलाई आज बिहान ९ बजे उपस्थित भई तिलक प्रसाद ग्रहनका लागि अध्यक्ष चन्दले आग्रह गर्नुभयो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रवर्तक भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको मानिने भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र सो रातलाई ‘मोहरात्री’ नामले चिनिन्छ। यस अवसरमा देशभरका कृष्णमन्दिरहरूमा पूजा–अर्चना, प्रवचन, भजन–कीर्तनसँगै विशेषगरी महिला र पुरुषहरूले व्रत बस्ने तथा रातभर जाग्राम बस्ने परम्परा छ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।
बाल्यकालदेखि नै विभिन्न अद्भुत लीला प्रकट गर्नुभएका भगवान् श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दुष्ट प्रवृत्तिको अन्त्य गर्नुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ।

तपाईको प्रतिक्रिया