धनगढी, २९ जेष्ठ/एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा २४२ यात्रु सवार रहेको बताइएको छ । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन । उद्धार कार्य सुरु गरिएको छ । एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन ।
गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन्। केन्द्र सरकारबाट उनलाई सबै सम्भव सहयोगको आश्वासन दिइएको छ। भारतीय सञ्चारमाध्यम न्यूज २४ अनलाइनका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको खबर छ ।