धगनढी, २ जेष्ठ/सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवासंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । २६ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर कलाकार, पत्रकारसंग धनगढीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिमको धार्मीक, सांस्कृतिक, पुरातात्वीक, कला, संस्कृति पर्यटकीय क्षेत्रलाई समेटेर चलचित्र बनाउन आग्रह गर्नुभयो ।
राज्यमन्त्री खड्काले सुदूरपश्चिमलाई चिनाउने यस प्रकारको चलचित्र निर्माण गर्ने योजना अनुरुप आउन र सो चलचित्र निर्माणका लागि आवश्यक पर्ने वजेट शिर्षकमै तोकेर अगाडी बढ्न र लैजान आफू तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले यो वर्ष चलचित्र महोत्सव गर्ने चाहना हुँदाहुँदै पनि वजेट अभावमा गर्न नसकिएको बताउँनुभयो । ‘यो वर्ष चलचित्र महोत्सव गर्ने चाहना थियो । मैले त्यो शिर्षकमा वजेटका लागि पठाएको पनि थिए’ डा. टीएन जोशीले भन्नुभयो, ‘तर, मन्त्रालयका केही साथीहरुले त्यो शिर्षक नै काटिदिनुभयो । यो पटक पनि चलचित्र महोत्सव गर्ने भनेर शिर्षक तोकेर पठाएको छु । त्यो नकाटिदिन माननीय राज्यमन्त्री मार्फत आग्रह गर्दछु ।’
द गेमका नायक समेत रहनुभएका कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले चलचित्र निर्माण गर्दा प्रहरीबाट कुनै कुराको सहयोग चाहिए निशन्देह भनिदिन आग्रह गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह, कैलाली अध्यक्ष श्रवण देउवा, नेपाल प्रेस युनियन सुदूरपश्चिमका उपाध्यक्ष टेकेन्द्र देउवा, प्रेस चौतारी नेपालका प्रदेश महासचिव भानुभक्त आचार्य, कलाकार सरस्वती खड्का, उमेश मायालु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
चलचित्र पत्रकार संघ धनगढीका उपाध्यक्ष विवेक नागरीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव कृतबहादुर विष्टले गर्नुभएको थियो ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन कार्यालाय इकाई धनगढीको प्रवद्र्धनमा तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढीको सहकार्यमा चलचित्र पत्रकार संघ नेपाल धनगढीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
चलचित्र पत्रकार संघ नेपाल धनगढीका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा चलचित्र विकास बोर्ड गठन गर्न आग्रह गर्नुभयो । धेरै प्रदेशमा बोर्ड गठन भइसकेको भएपनि सुदूरपश्चिमा गठन नहुँदा यहाँका चलचित्र कर्मीहरु अन्यायमा परेको अध्यक्ष जोशीको भनाई छ ।