धनगढी, ३० वैशाख/इन्डियन प्रिमियर लिग (आईपीएल) जेठ ३ अर्थात मे १७ बाट फेरि सुरु भएको छ । लिग चरणका बाँकी १३ खेलहरु ६ स्थानमा खेलाइनेछ । बीसीसीआईले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा प्लेअफ चरण मे २९ अर्थात जेठ १५ बाट खेलाइनेछ र फाइनल जुन ३ अर्थात जेठ २० गते हुने जानकारी दिएको हो ।
पाकिस्तानसंगको तनावका कारण मे ९ मा आईपीएल स्थगित गरिएको थियो । रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिचको पहिलो खेल मे १७ मा बेंगलुरुमा खेलिनेछ । बाँकी खेलहरु जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा खेलाइनेछ ।
लिग चरण मे २७ मा समाप्त हुनेछ । आइतबार, १८ र २५ मे मा डबल हेडर खेलिनेछ । यसको अर्थ ११ दिनमा १३ वटा लिग चरणका खेल हुनेछन् । मे ८ मा धर्मशालामा हुने पञ्जाब र दिल्लीबिचको खेल पाकिस्तानको आक्रमणका कारण रोकिएको थियो । यो खेल अब मे २४ मा जयपुरमा खेलिनेछ । प्लेअफ खेलहरुको स्थान अझै तय भएका छैन । यसअघि हैदराबाद र कोलकातामा २–२ प्लेअफ खेलहरु खेलाइने तय भएको थियो ।
आईपीएल २०२५ अन्तर्गत ७४ खेल खेलाइने थियो । मे ७ सम्ममा ५७ खेल खेलिसकेका थिए । मे ८ मा ५८ औं खेल बिचैमा रोकिन प–यो । अर्थात अब १७ खेल बाँकी छन् । जसमध्ये १३ खेल लिग चरणका छन् भने ४ खेल प्लेअफ चरणका छन् ।