भिम चौधरी
धनगढी, १९ वैशाख/महाकाली पारि भारतमा रहेको पूर्णागिरी र महाकाली वारि नेपालमा रहेको सिद्धबाबाको दर्शन गर्नेको अहिले घुइचो छ । फागु पूर्णिमादेखि वैशाख पूर्णिमासम्म चल्ने मेलामा नेपाल र भारतबाट ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् । सो समयमा लाग्ने मेलामा दैनिक ठूलो संख्यामा दर्शनका लागि भक्तजन पूर्णागिरी र ब्रम्हदेव पुग्ने भएपनि सबैभन्दा बढी भीड भने चैते दशैंको नवरात्राका बेला लाग्ने गर्दछन ।
परापूर्वकालमा आफ्ना भक्त सिद्धबाबाललाई प्रशन्न भएर पूर्णागिरीले आफ्नो र सिद्धबाबाको दर्शन गरेपछि मात्रै मनोकांक्षा पूरा हुने वरदान दिएको किम्वदन्ती छ । यहि मान्यता अनुसार महाकाली पारि भारतमा रहेको पूर्णागिरी र महाकाली वारि नेपालमा रहेको सिद्धबाबाको दर्शनका लागि भक्तजन पुग्ने गर्छन् ।
भारतको उत्तराखण्ड स्थित चम्पावत जिल्लाको पुर्णागिरी पर्वतमा अवस्थित पुर्णागिरी मन्दिर विभिन्न शक्ति पीठहरू मध्येको एउटा शक्ति पीठको रूपमा रहेछ । पूर्णागिरी मन्दिरको स्थापना सन् १६३२ मा कुमाउँका राजा ज्ञान चन्दको पालामा गुजरातबाट आएका चन्द्र तिवारी भन्ने एक व्यक्तीले पूर्णागिरी पर्वतको टाकुरोमा देवीको मूर्ति स्थापना गरिएको मानिन्छ । चन्द्र तिवारीले देवस्थलको महिमाबारे सपना देखेक । र, सो कुरा राजामा बिन्ती गरी आदेश अनुसार पूर्णागिरी मन्दिरको स्थापना गरेका थिए । बर्सेनि लाखौँ धार्मिक पर्यटकहरू आउने पूर्णागिरी मन्दिरमा सतीदेवीको नाभि पतन भएको भन्ने जन विश्वास रहेको छ । यहाँ नेपाली तथा भारतीय तीर्थ यात्रीहरूको निकै भिड लाग्ने गर्दछ ।
पूर्णागिरी दर्शन गर्नेले यस कारण गर्नुपर्छ सिद्धनाथ दर्शन
पूर्णागिरी मन्दिरको दर्शन गरे पश्चात कञ्चनपुर जिल्ला स्थित सिद्धनाथ (ब्रह्मदेव) मन्दिरको दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । यसर्थ पूर्णागिरी दर्शन जाने हरेक तीर्थ यात्रीहरू कञ्चनपुर स्थित ब्रह्मदेव वा महेन्द्रनगर स्थित सिद्धनाथ बाबाको मन्दिरको दर्शन गर्न आउने गर्छन । एउटा धार्मिक विश्वास अनुसार बाबा सिद्धनाथ पूर्णगिरी देवीका भक्त थिए । एक दिन पूर्णागिरी देवी आफ्नो शयन कक्षमा शृङ्गार गरिरहेको वेला अचानक बाबा सिद्धनाथ देवीको शयन कक्षमा प्रवेश गरेपछि देवी रिसाएर बाबाको शरीरलाई टुक्रा–टुक्रा पारेर आकाशमा फ्याकेकी थिइन् । पछि देवीले थाह पाइन कि शयन कक्षमा प्रवेश गर्ने व्यक्ति अरू कोही नभई उहाँका भक्त बाबा सिद्धनाथ थिए । देवीलाई पश्चात्ताप भयो र देवीले बाबालाई वरदान दिइन कि मेरो दर्शन पश्चात जसले बाबा सिद्ध नाथको दर्शन गर्दछ अनि मात्र उनीहरूको मनोकामना पूरा हुनेछ ।
यसरी पुग्न सकिन्छ पूर्णागिरी
भारतको बनवासा बजारबाट करिब ३० किलोमिटर दुरीमा रहेको छ पूर्णागिरी मन्दिर । नेपालको कञ्चनपुर जिल्लाको महेन्द्रनगरबाट भारतको बनवासा बजार, टकनपुर हुँदै पूर्णागिरी दर्शनका पुगिन्छ । बनवासाबाट प्रति व्यक्ति ३५ रुपैयाँ भारु भाडा तिरेर ठूली गाड र त्यहाँबाट प्रति व्यक्ति ३० रुपैयाँ भाडा तिरेर भैरव मन्दिरसम्म पुगिन्छ । नेपालबाट दर्शनका लागि पुग्नेहरु मोटरसाईकल मार्फत पनि पूर्णागिरी दर्शका लागि पुग्ने गरेका छन् । भारतको ठूली गाडसम्म मोटरसाईकलमा पुग्न सकिन्छ । ठूली गाडमा मोटरसाईकल राखे बाफत ५९ रुपैयाँ भारु र हेलमेट राखेबाफत ३० रुपैयाँ भारु तिरेर रसिद लिनुपर्ने हुन्छ । त्यसपछि प्रतिव्यक्ति ३० रुपैयाँ भारु तिरेर जिपबाट भैरव मन्दिरसम्म पुगिन्छ । यहाँबाट ३ किलोमिटर पैदल यात्रा गरेर ५ हजार ५ सय फिट उचाईमा रहेको अन्नपूर्णको चोटीमा अवस्थित पूर्णागिरी माताको दर्शन गर्न पुगिन्छ ।
नेपालीले लग्नुपर्ने अनिवार्य कागज
नेपालबाट पूर्णागिरी माताको दर्शन गर्न जाने भक्तजनहरुले अनिवार्य रुपमा नेपाली नागरिकता लगेर जानुपर्ने हुन्छ । नेपाल भारत बोडरमा नागरिकता चेक गरेर मात्र भारतीय प्रहरीले जान दिन्छन् । मोटरसाईकलबाट जानेहरुले नागरिकता, लाइसेन्स, पलुसन कार्ड र इन्सुरेन्स कागज अनिवार्य लगेर जानुपर्ने हुन्छ । यदि तपाईहरुसंग यी कागज छैन भने चेकिङ्गमा परेको खण्डमा कम्तिमा ५०० भारु रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।
निशुल्क बास र नुहाउने व्यवस्था
कैलाली र कञ्चनपुरबाट बिहानै हिडेपछि बेलुकासम्म पूर्णागिरी माताको दर्शन गरेर फर्कन सकिन्छ । तर, धेरै भक्तजनहरु रात बास बसेर बिहान दर्शनका लागि पुग्ने गर्दछन् । रात बस्नेहरुलाई बास बस्नका लागि त्यहाँ रहेका खुला धर्मशालामा निशुल्क बास बस्ने व्यवस्था रहेका छ । राति पुगेर त्यहाँ बास बस्ने र बिहान नुहाएर २ घण्टाभन्दा बढी पैदल हिडेर माताको दर्शन गर्न सकिन्छ । यद्यपी बास निशुल्क भएपनि प्रसाद भने किन्नुपर्ने हुन्छ । सामान्यतया भारु १५० देखि प्रसाद पाइने गर्दछ ।
रोमाञ्चक ३ किलोमिटर पैदल यात्रा
गाडीबाट झरेपछि करिब ३ किमी सिढि मार्फत पैदल हिँडेर जानु पर्छ । पहाडको चोटिमा निकै सानो स्थानमा रहेको यस मन्दिर परिसर वरपर मुस्किलले आवत जावत गर्न सकिन्छ । पैदल यात्राका क्रममा बाटोमा पर्याप्त धर्मशालाहरू, चिया नास्ता खाना खाने भोजनालयहरू र फुल प्रसादका पसलहरू देख्न सकिन्छ । पर्याप्त विश्राम स्थलहरू र गुञ्जायमान भजन कीर्तनका धुनहरूले सिढि चढेको थकान समेत मेटिने अनुभूति हुन्छ ।
झुठा देवी, काली र भैरव मन्दिर
पूर्णागिरी मन्दिर पुग्नु भन्दा करिब एक किलोमिटर पहिले झुठा देवीको मन्दिर रहेको छ त्यस मन्दिरले पनि त्यहाँ जाने भक्तजनहरूलाई आकर्षित गर्ने गर्दछ । एक पौराणिक मान्यता अनुसार भारतका एक धनाढ्य निसन्तान व्यक्तिले सपनामा देवीको दर्शन पाएछन् र देवीले मेरो दर्शन गरेमा तिम्रो सन्तान हुनेछ भन्नु भएछ । उनी तुरुन्त पूर्णागिरी देवीको दर्शन गर्न गए र यदि आफूलाई पुत्र प्राप्त भएमा सुनको घण्टी चढाउने भाकल समेत गरेछन्। देवीको आशीर्वाद पाएपछि उनलाई पुत्र प्राप्त भएछ । र, उनले भाकल अनुसार सुनको घण्टी चढाउनु पर्नेमा मनमा लोभ जागेर तामामा सुनको जलप लगाएर घण्टी तयार गरेछन । जब त्यो घण्टी चढाउन ज्यादै थिए दुन्यास भन्ने ठाउँमा विश्राम गर्दा पछि त्यो घण्टी उठाउन सकिएन । घण्टी उठाउन नसकेपछि देवीले घण्टी अस्वीकार गरेको ठानी त्यही नजिक एउटा मन्दिर बनाएर त्यसलाई राखिदिएछन् । सोही ठाउँलाई अहिले झुठा देवीको मन्दिर भन्ने गरिन्छ र त्यहाँ कुनै पूजा आजा नहुने भएता पनि पौराणिक मान्यता अनुसार उक्त स्थानमा सबै भक्तजनहरूको ध्यानाकर्षण हुने गर्छ र झुठादेवीको मन्दिर भनेर फुल प्रसाद चढाउने गरिन्छ। यहाँ काली माताको मन्दिर र भैरव मन्दिर समेत रहेको छ । भैरव मन्दिरबाट काली मन्दिर २ किलोमिटर चढाईमा छ भने झूठा मन्दिर डेढ किलोमिटरमा छ ।