एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१ : प्रवर्द्धकमा धनगढीको वडा नम्बर २ को साथ

धनगढी, २३ फागुन/‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले साथ दिएको छ । वडा नम्बर २ ले अवार्डलाई प्रवर्द्धकका रुपमा साथ दिएको हो । सम्झौतामा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझा र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे । सम्झौतापछि वडाध्यक्ष ओझाले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताए ।
चैत ७ गते धनगढीमा हुने छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष शंकर बोहराले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने बोहराले जानकारी दिए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया