धनगढीको वडा नम्बर १ एसपीए सुदूरपश्चिम स्पोट्स अवार्डको प्रवर्द्धक

धनगढी, २३ फागुन/चैत ७ गते हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ ले साथ दिएको छ । वडाले अवार्डलाई प्रवर्द्धकका रुपमा साथ दिएको हो । प्रबद्र्धक सम्बन्धी सम्झौतामा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे । सम्झौतापछि वडाध्यक्ष मुडभरीले खेलकुद पत्रकार मञ्चले राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीको सम्मान कार्यक्रम राखेर सराहनीयक काम गरिरहेको बताए । उनले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताउँदै सफलताको शुभकामना दिए ।
छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष नवराज पनेरुले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पनेरुले जानकारी दिए । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया