पुनर्निर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबारको उद्घाटन

अछाम, १९ फागुन/अछाम दरबारको सोमबार उद्घाटन गरिएको छ । पुनर्निर्माण सुरु भएको १६ वर्षपछि दरबारको उद्घाटन गरिएको हो । ४ फागुन, २०५८ मा तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो ।
संघीय सरकारका उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन । सहरी विकास मन्त्रालय मातहतहत निर्माण भएको दरबार अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई मन्त्री सिंहले हस्तान्तरण गरे ।
अछामको पहिचान बोकेको दरबारलाई सदुपयोग गरेर नयाँ पुस्तालाई ऐतिहासिक महत्वको बारेमा जानकारी दिनुपर्ने मन्त्री सिंहले बताए । ‘दरबारले अछामको ऐतिहासिक पहिचान बोकेको छ । यसको महत्वका बारेमा आउने पुस्तालाई जानकारी दिनैपर्छ’, उद्घाटन गर्दै उनले भने, ‘दरबारको विकास र बाँकी संरचना निर्माण गर्न हामी काम गर्छौं ।’ अछाम दरबारमा साविकका कार्यालय सञ्चालन गर्ने कि संग्राहलयका रुपमा विकास गर्ने भन्नेबारे छलफल भइरहेको प्रतिनिधिसभा सदस्य पुस्पबहादुर शाहले बताए ।


दरबार संरक्षणका लागि मन्त्रालयले बजेट उपलब्ध गराउनुपर्ने मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए । २ करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको सहरी विकास मन्त्रालयका महानिर्देशक मचाकाजी श्रेष्ठले बताए । उनका अनुसार दरबार ३ सय २० वर्गमिटरमा बनेको छ भने दरबार क्षेत्रको जम्मा क्षेत्रफल ९ सय ६० वर्गमिटर रहेको छ । दरबार परिसरको संरचना र संरक्षणका लागि चालु आवमा मन्त्रालयले मातहत कार्यालयबाट बजेट चलाउन मिल्ने गरी २ करोड बजेट छुट्याइएको र टेन्डर आवाहन भइसकेको छ, उनले बताए ।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत सञ्चालन भए पनि आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसमेत मारिएका थिए । घटनामा क्याप्टेनसहित ५३ सैनिक, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो ।
अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसैनका तत्कालीन राजा टीकाभुक शाहका पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहका पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको मंगलसेन–५ का चन्द्रमणि भाटले बताए।

तपाईको प्रतिक्रिया