धनगढी, १७ फागुन/राजश्व परामर्श समितिले धनगढीमा राजश्व परामर्श संग सम्बन्धित सुझाव संकलन तथा अन्तक्रिया गरेको छ । अर्थ मन्त्रालयका राजश्व सचिव दिनेश कुमार घिमेरको समुपस्थितिमा कैलाली उद्योग वाणिज्य संघ, धनगढीमा सञ्चालित राजश्व परामर्श संग सम्बन्धित सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कैलाली उद्योग वाणिज्य संघको सभा हलमा राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष ०८२/०८३ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गनुृपर्ने राजश्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, गैर कर एवम् राजश्व चुहावट नियन्त्रण लगायतका समग्र राश्व प्रशासनले गर्नुपर्ने सुधारका विषयमा छलफल गरेको हो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवाल, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्ट, कैलाली उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य, पोल्ट्री व्यवसायी, घरेलु उद्योग महासंघ, सुदूरपश्चिम मोबाइल्स व्यवसायी संघ, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सि.ए.जन्मराज तिमिल्सैनाले संघीय बजेट २०८२/०८३ मा कर प्रणाली सुधारका पक्षहरु विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।