धनगढी, १७ फागुन/क्यान्सरका बिरामीको गुणस्तरीय हेरचाह र पहुँच सुनिश्चित गर्न धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याइएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले देशभर क्यान्सर उपचार सेवा विस्तार गर्ने अभियानअन्र्तगत शनिबारदेखि धनगढीमा क्लिनिक सञ्चालनमा ल्याएको हो ।
धनगढीको सेति प्रादेशिक अस्पताल लाइन अगाडि रहेको एक कोठामा क्यान्सरको उपचार र परामर्श सेवा प्रदान गर्ने सोचका साथ क्लिनिक स्थापना गरिएको बताइएको छ । क्लिनिकको नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष डाक्टर खगेन्द्रराज भट्टले रिवन काटेर सेवा शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै डाक्टरभट्टले सुदूरपश्चिममा मेडिकल कलेज सञ्चालनमा नहुँदा अहिले क्यान्सरको उपचार गर्न काठमाडौं तथा भारतका विभिन्न स्थानमा जानुपर्ने बाँध्यता रहेको बताउँनुभयो । डाक्टर भट्टले क्लिनिकका रुपमा सेवा शुभारम्भ हुनु आफैमा यस क्षेत्रका विरामीका लागि लाभान्वित हुन पाउने अवसर रहेको र विस्तारै यसले आफना सेवाहरु विस्तार गर्दै लग्न जरुरी रहेको बताउनुभयो । डाक्टर भट्टलेक्यान्सरका विरामीले शुरुवाती चरणमै डाइग्नोसिस गराउन सके क्यान्सर रोगबाट बच्न सक्ने बताउँनुभयो । डाक्टर भट्टले जनचेतना अभाव, आर्थिक अभाव लगायतका कारण यहाँका विरामीहरुले दोश्रो वा तेश्रो चरणमा डाइग्नोसिस गराउदै आएको कारण समयमै रोग निवारण गराउनमा चुनौति रहेको छ बताउँनुभयो । उहाँले सुदूरपश्चिममा स्वास्थ्यका थुप्रै सेवाहरु अझै थप हुन नसकेको बताउँदै –‘नीजि क्षेत्रबाट होस वा सरकारबाट होस् । यहाँ नभएका सेवाहरु विस्तार गर्न सके यहाँका जनताहरु यही उपचार गराउन सेवा पाउनमा सहजता हुने बताउनुभयो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर कपिल गौतमले क्यान्सरको उपचार सेवासंगै जनचेतना फैलाउने र अस्पताल विस्तार गर्ने उद्देश्यसहित पहिलो चरणमा क्लिनिक सञ्चालनमा ल्याइएको बताउनुभयो । अस्पतालले अब देशभरीनै आफना शाखाहरु विस्तार गर्ने सोच बनाएको छ उहाँले भन्नुभयो, ‘दश वर्षअघि ‘नेपालीको क्यान्सर उपचार नेपालमा नै’ भन्ने नारासहित अस्पताल शुभारम्भ गरेको थियो । अब देशभरीनै सेवा विस्तार गरेर हरेक नेपालीलाई क्यान्सर उपचारमा ल्याउने योजना बनाएको छ ।’
अस्पतालका निर्देशक डाक्टर विजेशराज घिमिरेले पहिलो चरणमा धनगढीमा सञ्चालनमा ल्याइएको क्लिनिकमा टेलिमेडिसिनबाट सेवा शुभारम्भ गरिएको बताउनुभयो । उहाँले ‘धनगढी र आसपासका क्षेत्रका बिरामीलाई विशेष हेरचाहका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य राखेको बताउँदै अब यहाँका क्यान्सरका बिरामीले परामर्श, उपचार र फलोअप सेवा सहज रुपमा प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले विस्तारै जटिल उपचारबाहेक सबै सेवा यहिबाट उपलब्ध गराइने बताउनुभयो । अस्पतालका अध्यक्ष सुदिप श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरु, अस्पताल सञ्चालक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।