धनगढी,१४ फागुन/धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा २ दिने “शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञानमा उदीयमान अनुसन्धान प्रवृत्तिहरू“ सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । शिक्षा, नवप्रवर्तन, र व्यवसाय मार्फत समाजलाई सशक्त बनाउने उद्देश्यका फागुन १५ र १६ गते सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक मोहन सिहं साउदले जानकारी दिनुभयो ।
सम्मेलनमा विभिन्न १२ वटा विषयमा छलफल गरिने छ । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, गंगा एस स्कूल, अमर ज्योति विद्यालय, थकाली आर सेन्टर लगायतका नेपाली शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूले अनुसन्धान प्रस्तुति गर्नेछन्। यस सम्मेलनमा २६ वटा विदेशी विश्वविद्यालयका बौद्धिक व्यक्तिहरूको समेत सहभागिता रहनेछ । अलीगढ मुस्लिम विश्वविद्यालय, एमिटी विश्वविद्यालय, अन्ना साहेब डांगे कलेज अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, भारत लगायतका शिक्षण संस्थाका अनुसन्धानकर्ता तथा विज्ञहरू पनि सम्मेलनमा सहभागी हुनेछन्।
नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मोरक्को, तान्जानिया, अस्ट्रेलिया, थाइल्यान्ड, र जापानका अनुसन्धानकर्ताहरू सम्मेलनका लागि धनगढी आइपुगेको संयोजक साउदले जानकारी दिए। विभिन्न देशका बौद्धिक व्यक्तित्वको उपस्थिति रहने भएकाले सम्मेलनले शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा अन्तर्राष्ट्रिय स्तरको छलफलको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।