धनगढी, १० फागुन/नेपाल मगर संघको ४३ औं स्थापना दिवस धनगढीमा भव्य रुपमा मनाइने भएको छ । नेपाल मगर संघ धनगढी उपमहानगरपालिकाको व्यवस्थापन, नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशको समन्वय तथा नेपाल मगर संघ कैलालीको आयोजनामा संघको ४३ औं स्थापना दिवस भव्य रुपमा मनाइने भएको हो । नेपाल मगर संघ कैलालीले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन १५ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित थारु देउथानमा विविध कार्यक्रमसहित स्थापना दिवस भव्य रुपमा मनाइने बताइएको छ ।
बिहान ११ बजे सांस्कृतिक झाँकीसहित –याली सुरु भई लिगलिगे दौड एक वर्षको लागि राजा छनौट लगत्तै कार्यक्रम सुरु हुने अध्यक्ष दलबहादुर घर्तीमगरले बताउनुभयो । अध्यक्ष दलबहादुर घर्तीमगरका अनुसार धनगढीको ट्राफिक चौराह र गुरही चोकबाट एकैसाथ विविध मौलिक परम्परागत सांस्कृतिक झाकी नौमति बाजा, झाक्री विधि, सारंगी, हाता, मारुनी नाँच, भुमे नाच, पैसरी नाच, सोरठ्ठी नाच, ख्याली नाच, नृत्यसहित धनगढी परिक्रमा गरिने बताउनुभयो । दिउँसो १२ बजे कार्यक्रम स्थल तारानगरको थारु देउथानमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबाट कार्यक्रम उद्घाटन हुने जानकारी दिनुभयो ।
नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कमलबहादुर पुन मगरले समुदायको पहिचान र विभिन्न माग सहित यस वर्ष पनि स्थापना दिवस मनाउन गइरहेको बताए । उहाले राज्यको हरेक निकायमा मगर समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी, भाषिक समानता, सबै खाले विभेदको अन्त्यका लागि राज्यलाई दवाव दिने उद्देश्य सहित स्थापना दिवस मनाउने बताउनुभयो । कार्यक्रममा कैलाली–कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट १० हजार बढीको सहभागिता रहने बताइएको छ ।