काठमाण्डौं, ९ फागुन/भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरमान लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।
उनीसहितको चार जनाको समूहले ट्याक्सी चालक मेघबहादुर तामाङको हत्या गरेका थिए ।
घटना यस्तो थियो…..
घटना २०६६ मंसिर २४ गतेको हो । राति सवा १२ बजेतिर ठमेलबाट ट्याक्सी बुक गरेर चार जनाको समूह भक्तपुर पुगेको थियो । भक्तपुर र काठमाडौंको सीमा क्षेत्र नरफाँट पुगेपछि ट्याक्सीमा सवार चार युवाहरूले गलबन्धीले घाँटी कसेर ट्याक्सी चालकको हत्या गरेका थिए । बाँकी दुई जना भने फरार थिए । हत्यापछि उनीसँग भएको मोबाइल र नगद उक्त समूहले लुटेर लगेको थियो ।
उनको हत्या भएपछि त्यतिबेला प्रहरीले विनोद लामा र श्याम तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई र फरार दुई गरी चार जनालाई प्रतिवादी बनाउँदै भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । भक्तपुर अदालतले चारै जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । यता दुई जना भने फरार नै थिए । फरार मध्ये वीरमानलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि अदालतमा उपस्थित गराएर कारागार पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए । पक्राउ परेका व्यक्तिबारे आवश्यक कानुनी प्रक्रिया अधि बढाइएको पनि प्रहरीले जनाएको छ ।