भोलीदेखि धनगढीमा कैलाली प्रिमियर लिग हुँदै, विजेतालाई नगद २ लाख

धनगढी, ६ फागुन/भोलीदेखि धनगढीमा कैलाली प्रिमियर लिग २०८१ हुने भएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा लिग हुने भएको हो । फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १२ टिमको सहभागिता रहने आयोजक कैलाली जिल्ला क्रिकेट संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ । लिगमा धनगढी उपमहानगरपालिका, गोदावरी, घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका, शुक्लाफाँटा नगरपालिका, त्रिवेणी नगरपालिका, भिमदत्त नगरपालिका, बेदकोट नगरपालिका, परशुराम नगरपालिका, लम्कीचुहा नगरपालिकाको एक/एक टिम सहभागित हुनेछन् भने पुनर्वास नगरपालिकाको २ टिम सहभागित हुने छन् । लिगको विजेतालाई नगद २ लाख रुपैयाँ दिइनेछ भने रनर अप पुरस्कार १ लाख, प्लेयर अफ द सीरीज २५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई १५/१५ हजार रुपैयाँ, नव प्रतिभा खेलाडीलाई १० हजार तथा प्लेयर अफ द म्याच प्रत्येक खेलको २ हजार ५ सय रुपैयाँ दिइने आयोजक कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष बिक्रम बिष्टले बताउनुभयो ।
सुदूरपश्चिमका युवाहरुलाई क्रिकेट खेलमा प्रोत्साहित गर्दै बिभिन्न पालिकामा रहेका नवप्रतिभावान खेलाडीहरुको पहिचान गर्ने तथा यस क्षेत्रबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न आयोजना गरिएको लिग सम्पन्न गर्न २५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया