धनगढी, ६ फागुन/आर्थिक वर्ष २०८१र०८२ को अर्ध–वार्षिक समीक्षा गोष्ठी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा भएको छ। आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आयोजनामा भएको गोष्ठीमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्रिपरिषद्का सम्पूर्ण मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्य, प्रमुख सचिव, मन्त्रालयका सचिव तथा निर्देशनालय प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्त्रालयका सचिवहरूले आ–आफ्ना मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गरे। सो क्रममा मुख्यमन्त्री शाहले बजेट निर्माण, प्रभावकारी कार्यान्वयन, सुशासन र जनउत्तरदायी शासनप्रति सरकारको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै प्रदेश सरकार कुनै पनि हालतमा सुशासन र डेलिभरीमा सम्झौता नगर्ने स्पष्ट गरे।
मुख्यमन्त्री शाहले गत वर्षको ३६.५ अर्बको बजेटलाई सन्तुलित रूपमा २९.५ अर्बमा सीमित गर्ने कठिन निर्णय आफूले लिएको उल्लेख गर्दै बजेट निर्माणमा मापदण्ड अपनाउन आवश्यक रहेको बताए । ‘जनताको काम सहज रूपमा अघि बढ्नुपर्छ । यदि त्यसका लागि मलाई जेल जानुपर्छ भने म तयार छु ।’ उनले भने। उनले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने उल्लेख गर्दै सरकारको प्राथमिकता प्रभावकारी सेवा प्रवाह र बजेट कार्यान्वयन रहेको बताए।