धनगढीबाट खैरो हेरोइनसहित ६ जना पक्राउ

धनगढी, ६ फागुन/प्रहरीले कैलालीबाट ६ ग्राम ८८० मिलिग्राम लागुऔषध (खैरा हेरोइन) सहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको बिभिन्न वडाबाट खैरो हेरोइन सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कञ्चनपुरको डोकेबजारबाट धनगढीतर्फ आउँदै गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का १९ वर्षीय विनोद गिरीले चलाएको सु.प.प्र. ०१०१२ प ७४९५ नम्बरको मोटरसाईकल वडा नम्बर २ ब्यारेलमा चेकजाँच गर्दा हेल्मेटभित्र लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद भएपछि चालक र पछाडि सवार बाजुरको बुढीगंगा नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय
देबेन्द्र खातीलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ ।


यस्तै, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरस्थित सोही ठाउँ बस्ने १६ वर्षीय अनुज ओखेडा र २७ वर्षीय रुपेन्द्र रावललाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ९३० मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका–१२ ‘बि’ गाउँबाट ‘ए’ गाउँ बस्ने ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँटलाई शंका लागि चेकजाँच गर्दा ८५० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया