धनगढी, २ फागुन/स्थानीय तहहरुमा देशभरमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा अमरगढी नगरपालिकाले ८१.७ ल्याएको छ ।
उत्कृष्ट पाँच स्थानीय तहमा अमरगढीसँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका रहेका छन् । इलामको सूर्योदय नगरपालिकाले ८०.२ अंक ल्याएको छ भने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले ८०.१, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८.२, स्याङ्जाको आँधिखोला गाउँपालिकाले ७८ अंक ल्याएको छ ।
महानगरपालिकातर्फ भरतपुर महानगरपालिका सबैभन्दा अगाडि रहेको छ । भरतपुरको ७.।२ अंक आएको छ भने दोश्रोमा विराटनगर महानगरपालिका ७३.५, तेस्रोमा ललितपुर महानगरपालिका ६६.७, चौथोमा काठमाडौं महानगरपालिका ५४.३, पाँचौंमा पोखरा महानगरपालिका ५१.५ र छैटौंमा विरगञ्ज महानगरपालिका ४३.१ अंक ल्याएका छन् ।
स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।