१२ वर्षदेखि फरार सर्वस्वसहित कैद सजाय सुनाइएका कैलालीका दिपकबहादुर सिंह पक्राउ

धनगढी, ३० माघ/सर्वस्वसहित जन्म कैद मुद्धामा कैलाली कारागारबाट फरार कैलालीका एक जना १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ बस्ने ४८ वर्षीय देवसिंह ठकुरी भन्ने दिपकबहादुर सिंह रहेको प्रहरीले जनाएको छ । सिंहलाई नेपाल–भारत सिमानास्थित कञ्चनपुरको भिमदत्त नगरपालिका–१० गड्डाचौकी क्षेत्रबाट बुधबार बिहान ५ बजे पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा प्रहरी नायव निरीक्षक जगेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताउनुभयो । सिंह २२ साउन २०६९ मा उपचारका लागि गेटा आँखा अस्पताल लगिएको बेला फरार भएका थिए । सिंहलाई कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको २७ मंसिर २०६७ मा सर्वस्वसहित जन्मकैदको सजाय फैसला सुनाएको थियो । २४ फागुन २०६४ मा भक्तबहादुर भनिने बमबहादुर साउदको हत्या गरेको मुद्दामा अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसला आउँदा उनी ११ असार २०६६ देखि थुनामै थिए । उनले हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका थिए । सिंहमाथि हत्या र हातहतियार खरखजनाबाहेक अन्य मुद्दाहरू पनि छन् ।
उनीविरुद्ध २ असोज २०६२ मा गोदावरी–६ कै मानबहादुर सुनारको हत्या, १० असार २०६५ मा अपहरण, १० असार २०६६ मा हातहतियार खरखजनालगायत मुद्दा छन् ।

तपाईको प्रतिक्रिया